खेलाडी र प्रशिक्षक विवादको छानबिन गर्न एन्फाद्वारा तीन सदस्यीय छानबिन समिति गठन

Posted on: 08 May, 2022

वैशाख २५, काठमाडाैं | राष्ट्रिय टोलीका खेलाडी र प्रशिक्षकबीच भएको विवादको छानबिन गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)ले समिति गठन गरेको छ । आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको कार्यसमितिको बैठकले तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । 

गत १३ वैशाखमा खेलाडीले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको व्यवहारका कारण बन्द प्रशिक्षण छाडेका थिए । १६ गते पत्रकार सम्मेलन गर्दै बन्द प्रशिक्षण छाडेका खेलाडीले स्पष्टिकरण दिएका थिए । 

१८ वैशाखमा प्रशिक्षक अल्मुताइरीले एन्फालाई पत्र काट्दै खेलाडीले बन्द प्रशिक्षण आफूलाई थाहा नदि छाडेको र आगामी प्रशिक्षणमा सामेल नगराउने बताएका थिए । उनले पत्र काट्दै खेलाडीलाई कारबाही नगर्न एन्फासमक्ष आग्रहसमेत गरेका थिए । 

१९ वैशाखमा १० खेलाडीले हस्ताक्षर गर्दै व्यवस्थापक र प्रशिक्षकको कारण बन्द प्रशिक्षण छाड्नु परेको र सत्यतथ्य छानविन गर्न एन्फासमक्ष आग्रह गरेका थिए । 

यता, एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ, उपाध्यक्षद्वय वीरबहादुर खड्का, कृष्ण थापा र सदस्य दावा लामाले पत्र काट्दै कार्यसमित बैठक बोलाएपछि आइतबार बैठक बसेको थियो । 

बैठकले पूर्व खेलाडी तथा आर्मीका अवकाश प्राप्त उपरथि भिक्टोर राणालाई छानबिन समितिको संयोजक बनाएको हो । यस्तै पूर्व राष्ट्रिय खेलाडी विदुर विष्ट र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापालाई छानबिन समितिको जिम्मा दिएको हो । समितिले सात दिनभित्र सत्यतथ्य पत्ता लगाई एन्फामा प्रतिवेदन बुझाउनु पर्नेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!