रोल्पा पुगेका डा. केसीले एक सुत्केरी आमालाई बचाए, तीन सयभन्दा बढीको उपचार गरे

Posted on: 16 Sep, 2016

भदौ ३१, रोल्पा । चिकित्सा क्षेत्रको विसङ्गति अन्त्यको माग गर्दै नवौँ सत्याग्रहको घोषणा गर्नुभएका डा गोविन्द केसीले रोल्पाको सुलिचौरको प्राथमिक स्वास्थ्य केन्द्रमा चलाउनुभएको दुई दिने स्वास्थ्य शिविरमा करिब ३५० बिरामीको उपचार भएको छ । 

त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा केसी झोलामा औषधि बोकेर बुधबार रोल्पा  पुगेका थिए । शिविर सम्पन्नपछि उनि आज बिहानै बसबाट काठमाडौँ  फर्किएको स्वास्थ्य केन्द्र सुलिचौरका प्रमुख डा मिलन बज्राचार्यले जानकारी दिए ।

अन्य समयमा दैनिक ३० देखि ४० जना बिरामी आउने प्राथमिक स्वास्थ्य केन्द्रमा शिविरका दिन बिरामीको भिड नै लागेको डा बज्राचार्यले बताए । “बिहानैदेखि बिरामी लाइनमा लागेका थिए”, स्वयम्सेवकका रुपमा दिनभर खटिएका रेडक्रस जिल्ला शाखा रोल्पाका कोषाध्यक्ष गन्ज क्षेत्रीले भने-, “ठूला डाक्टर आएको भन्ने सुनेर हाडजोर्नी बाहेकका बिरामी पनि आएका थिए । जनरल उपचार सबैको गर्नुभयो ।” 

शिविरको पहिलो दिनमै उनले करिब सय बिरामीको उपचार गरेका थियो भने दोस्रो दिन २३० भन्दा बढी बिरामीको उपचार भयो । डा केसीकै कारण एक सुत्केरी आमाको ज्यान जोगिएको स्वास्थ्य केन्द्रले जनाएको छ । अत्यधिक रक्तश्रावले सिकिस्त बनेकी ती महिलाको डा. केसीले उपचार गरेपछि ज्यान जोगिएको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!