यी हुन् एकता संयोजन समितिका एजेन्डा, प्रचण्डसँगको वार्तापछि ओलीले गरे थप छलफल

Posted on: 14 Feb, 2018

फागुन २, काठमाडौँ । माओवादी र एमालेबीचको पार्टी एकताको अन्तिम टुंगो लगाउन दुई पार्टीका नेता सम्मिलित एकता संयोजन समितिको बैठक बुधबार बस्दै छ ।

पार्टीको नाम, मूल नेतृत्व, स्थायी समिति र केन्द्रीय कमिटीको आकार र स्वरूप, सैद्धान्तिक, वैचारिक कार्यदिशा, नयाँ सरकार गठनलगायतका विषय बैठकका एजेन्डा छन् । एमाले उपाध्यक्ष वामदेव गौतमले दुई अध्यक्षले एकताको खाकाको टुंगो लगाए पनि बैठकका एजेन्डा जानकारी नगराएको बताए, नयाँ पत्रिकामा खबर छ ।

‘वार्ताबाट एकताको मोडालिटी टुंगिएको जानकारी भए पनि एजेन्डाबारे कुनै जानकारी दिनुभएको छैन, सबै कुरा संयोजन समितिको निर्णयपछि बाहिर ल्याउने तयारी छ,’ गौतमले भने ।

प्रचण्डसँगको अन्तिम समझदारीपछि ओलीले मंगलबार बेलुकी एमाले महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव प्रदीप ज्ञवालीलगायतका केही निकटस्थ नेताहरूसँग सुझाब लिएका छन् । 

बैठकका एजेन्डालाई अन्तिम रूप दिन बुधबार बिहान पनि दुई अध्यक्षबीच छलफल हुने र दिउँसो एकता संयोजन समितिको बैठक बस्ने ज्ञवालीले जानकारी दिए । 

‘बिहान दुई अध्यक्षबीच एकपटक छलफल हुन्छ र दिउँसो एकता संयोजन समिति बैठक बसेर सबै कुरा टुंगिन्छ,’ उनले भने । स्रोतका अनुसार दिउँसो २ बजे संयोजन समितिको बैठक बस्नेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!