विजया दशमीको शुभ कामना !

Posted on: 07 Oct, 2016

राजु विक
हिन्दूहरुको महान चाड बडादशैँले हामी सबैलाई उल्लासित पारिरहेको छ । हामी सबैले आ–आफ्नै किसिमले बडादशैँको तयारी गरिरहेका छौँ । यो पावन अवसरमा देशविदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीवहिनीहरुमा सुख, शान्ति र समृद्धिको कामना गर्दछु । हामी सबैमा सतबुद्धि पलाओस् । हामी सबैमा सतमार्ग पहिचान गर्न र हिँड्न सक्ने शक्ति मिलोस् । नवदुर्गाले हामी भित्रको अहंकारको बद गरुन । हाम्रा कुप्रवृ    ित्तको वद गरुन । नवजीवन नवनिर्माणका लागि जागृत गरुन । यानिकि हामी सबैले आफ्नो जीवनमा सन्तुष्टि लिन सकौँ । आत्मागौरवले जिउन सकौँ । जित्न सकौँ । जिताउन  सकौँ ।  
गुँड छोडेर गएका पन्छीहरु गुँड सम्झिएर आउने दिन पनि आउँदो रहेछ । मतलब, अहिले देशविदेशमा छरिएर रहेका सबै नेपालीहरु आफ्नो घर सम्झिएर फर्किने क्रम चलिरहेको छ । गाउँघरमा चहलपहल बढ्दै गएको छ ।
हामी कतिपय आफ्नो जिम्मेदारी, कार्यव्यस्तता र बाध्यताले अमिलो, धमिलो र सानो मन गरेर यथास्थितिमा बसिरहेका हौँला । घर सम्झिएका हौँला । आफन्त र विगतका रमाइला दिनहरु सम्झिएर बसिरहेका हौँला । यो बडादशैँले हामीलाई हर्षउल्लास होइन घनघोर दुःख बोकेर आए जस्तो पनि मानेका हौँला ।
मनमा शान्ति छ, खुसी छ भने सदा चाडबाड र बडादशैँ आउँछ । मनमा शान्ति र खुसी छैन भने बडादशैँ पनि बडादशा बनेर आइरहेको हुन्छ । विचार गरौँ ।
सुख र शान्ति खानामा, वस्त्रमा, मनोरञ्जनमा कदापि हुँदैन । यी त शारीरिक आनन्दका लागि मात्र  हुन् । शारीरिक आनन्द अल्पायु र विनाशी हुन्छ किनकि हाम्रो शरीर नै विनाशी तत्वबाट बनेको छ । मानसिक सुखको बसमा शरीर पनि स्वतस्फूर्त रुपमा पर्ने गर्छ । हामीले मानसिक सन्तुष्टि लिन सकियो भने संसारको सबैभन्दा आनन्द दिने वस्तु भेट्ने छौँ । तसर्थ भौतिक सुखमा मात्र बडादशैँको आनन्द खोजेर हिड्ने संस्कारलाई विदा गरौँ ।
बडादशैँको उपलक्ष्यमा हामीले प्रेम छोडिरहेका हुन्छौँ । मासु हाम्रो खानाको अनिवार्य खुराक बनिरहेको हुन्छ । यसका लागि हामीले कयौँ प्राणीको जीवन मास्नु पर्ने हुन्छ । हाम्रो संस्कारको अनविज्ञ मानिसलाई जवाफमा यो प्राणी मैसासुरको अवतार हो त्यसैले यसको वद गर्नु पर्छ भन्ने ढोगी उत्तर दिन हामी पछि पर्दैनौँ । मैसासुरको वद गरियो ठिकै छ । फेरि मैसासुरको मृत शरीर मिठो खानाको रुपमा लिनु ठिक उत्तर हो कतै ? यस्तो आनिबानीले हामी पनि महा मैसासुर बनेनौँ र ?
एउटा खसी घरमै ढलाउनु भयो ठिकै छ तर हामीले घरमा हत्या कार्य गर्दा हाम्रा बालबालिकाले कसरी लिएका हुन्छन् भन्ने मनोविज्ञानको ख्याल हामीले गरिरहेका हुँदैनौँ ।
चाडबाडमा हामी जे गर्छौँ हाम्रा बालबालिकाको खुसीका लागि गर्छौँ । तर कतिपय हाम्रा व्यवहारले उनीहरुलाई झनै दुखी पनि बनाएको हुन सक्छ ।
कतै उनीहरुसँग बुर्कुसी मारेर खेल्ने उनीहरुको साथी मुने पाठीको हत्या उनीहरुलाई पिडादायी बनेको छ कि ? कतै उनीहरुको मनमा त्यही कारण गहिरो चोट परेको छ कि ? कतै उनीहरुले हामीलाई ज्यानमाराका रुपमा लिएका छन् कि ? कतै मेरो बाबाले मलाई पनि मुने पाठीको झैँ हत्या गर्न सक्छ भनेर भयभित त छैनन् । कतै उनीहरुले हिंसाको गहिरो पाठ त सिकेका छैनन् । कतै हामी गरिब भएकोले ओल्लाघरे पल्लाघरे काकाकहाँ झैँ खसी ढाल्न सकिएन भन्ने हीन मनोग्रन्थी बोकेर हिडेका त छैनन् ? हुन सक्छ, हामीले हाम्रा बालबालिकाको खुसीका लागि गरिएका क्रियाकलापबाट उनीहरु अति दुखी बनिरहेका त छ्रैनन् ? एक इमान्दार र सचेत अभिभावकका नाताले एकपल्ट आत्मसमीक्षा गर्ने हो कि ?
मिठो मसिनोको वहानामा हामीले खाने खुराकहरु हाम्रो स्वास्थ्यको लागि कत्तिको लाभदायक छन् ? आत्मसमीक्षा गरेका छौँ कि छैनौँ ? मिठो मसिनोको लागि आयो दशैँ ढोलक बजाई गयो दशैँ क्रृण बोकाइ त भएको छैन । घाटी हेरी हाड निलौँ भन्ने उखानलाई चरितार्थ गर्ने हो कि ? हुन त हाड निल्ने कुरो होइन । यसको सकारात्मक अर्थलाई सकारात्मक किसिमले ग्रहण गरेर आफुलाई परिवर्तन गर्ने प्रयास गर्दा कसो होला ?
वडादशैँको लागि हामीहरु घर फर्किदै छौँ या स्वजनहरुकहाँ जाँदै छौँ । यतिबेला हामीहरुलाई यातायातको ठुलो समस्या परेको हुनु पर्छ । हामीले अति कठिनाइ युक्त या खतरायुक्त यात्रा गरिरहेका पनि हुन सक्छौँ । दुःख पाएर कतै बाटातिरै भड्किरहेका पनि हुन सक्छौँ । कतै पाकेटमार, चोरी, डकैती या लुटपाटमा परेका पनि हुन सक्छौँ । क्षमताभन्दा अधिक भारको कारण धेरै सवारी साधनहरु दुर्घटनामा परिरहेका, यात्रुहरु मरिरहेका या घाइते, अपाङ्ग भएका समाचारले हामीहरुलाई असाध्यै नरमाइलो समेत बनाइरहेको घटनाहरुलाई हामीले बिर्सिन पाएका छैनौँ । यतिबेला हामीलाई यातायातका कुनै पनि साधनहरु पाए भएको पनि हुन सक्छ । कतै हामीले प्रयोग गरेको सवारीसाधनको प्राविधिक समस्याको सिकार हामी  हुन त गइरहेका छैनौँ ? वडादशैँको एक दिनका लागि, टिकाको एक छिनका लागि कतै हामीले आफुलाई जीवनभरका लागि समस्यामा त होम्दै छैनौँ ?
वडादशैँको सांस्कृतिक र सामाजिक महत्वको स्थान आफ्नै ठाउँमा रहेको छ । आफुभन्दा वृद्धा भनौँ बडाको हातबाट टिका र आशिर्वाद माग्ने र गक्ष अनुसारको उपहार चढाउने संस्कारले त्यस्ता बुढापाकाको आत्मबल दह्रो हुन सक्छ । वर्षको एकपल्ट मात्र स्वजनहरुलाई भेट्न पाउँदा उनीहरुले आत्माशान्ति या गुहार पाउन त सक्छन् नै । तर पनि यो बाध्यकारी अवस्थालाई हामीले विवेकका आँखाले हेर्दा र विवेकशील भएर आत्मनिर्णय गर्दा कसो होला ? वडादशैँमा बाहेक हाम्रा वृद्धवृद्धा मान्यजनहरुको आवश्यकता अनुसार हामी उपलब्ध हुन सक्ने र उनीहरुको सेवा गर्न सक्ने हो भने हाम्रा उनीहरुले सधैँ दशैँ आएको महसुस गर्न सक्ने छन् । त्यतिबेला हामीले वास्तवमा दशैँ सार्थक पारेर मनाएको ठहर्ने छ ।
देशमा भूकम्पले पारेको खाडल नपुरिदै कयौँ ठाउँ बाढीपहिरोको चपेटामा पिल्सिएका छन् । राज्य      (सरकार) जनताको समस्याप्रति ंअथाहा जस्तै छ । कसैले बलजफ्ती सम्झाइदियो भने शुभचिन्तकका भाँती शुभेच्छा मात्र व्यक्त गर्न टक्रिन्छ ।
देशी विदेशी दाताहरुले भूकम्पपीडितहरुलाई तत्कालै सहयोग अनुदान उपलब्ध गराएका हुन् । सरकारले आफ्नै साधनस्रोतको सदुपयोग गरेर भूकम्प पीडितलाई उहिले नै सहयोग गर्नु पर्ने थियो । यो उसको जिम्मेदारीको कुनै अर्थ र ठेगान भएन । पीडितहरु भोक, तिर्खा, प्यास, रोगव्याधी र दैविक प्रकोपले मर्दै छन् । उनीहरुलाई वडादशैँले खिज्याइरहेछ । सरकारले अझै योजना बनाएर सकेको छैन ।
बाढीपीडितहरु कहाँ बसेर गुहार मागिरहेका छन् कसैलाई थाहा छैन । सरकार यस विषयमा चुपचाप बसिरहेको छ । सरकार पक्षघात भएर टुलुटुलु हेरिरहेजस्तो देखिन्छ । तिनै निमुखा जनताको अगाडि झनै निरीह भएर लम्पसार भए जस्तो आभास नभएको पनि होइन ।
हुन त दोष सरकारलाई लगाउने ठाउँ पनि छैन । सरकार नै नियत र नियतिवस बन्दै र ढल्दै आएको सत्यतथ्य जनताले कठैबरा भनी चुकचुकाउँदै हेरिरहेका छन् । नेपालको सरकार राजनैतिक संस्कार, सभ्यता, आस्था र विश्वासबाट नचलेर यो पूर्वाग्रह्री र आत्मघाती खेलबाट बन्दै र ढल्दै जाने तितो सत्यका प्रत्यक्ष दर्शी आज सबै देशीविदेशी जनता र मित्रजनहरु बनिरहेछन् । व्यक्तिगत स्वार्थले अनुप्राणित भई सम्झौता र साझेदारीमा सरकार गठन गर्ने र ढलाउने, सरकारको आयु गठनपूर्व नै निर्धारण गर्ने कुप्रथाले देश र जनताको भविष्य अनिश्चित र अन्धकारमय हुँदै गएको छ । देशको राजनैतिक गति पूर्णतः पक्षघात भइरहेको छ । देशको यस्तो प्रकारको दुःखको अन्त्य यो वडादशैँले गरोस, राजनैतिक पार्टी र जिम्मेदार व्यक्तिहरुमा सत्बुद्धि पलाओस् । देशलाई अग्रगति मिलोस् ।
हामीले यसपालिको वडादशैँ यसरी मनाउँदा कसो होला ?
अहिले म घर जान पाइन तर वृद्धाश्रममा गएँ । मैले दशैँको लागि खर्चिने रुपयाँ उनीहरुको सहयोगको लागि उपयोग गरेँ ।
अहिले म आफन्तहरुकहाँ गइन । किनकि मलाई समय थिएन । बरु उनीहरुकहाँ जाँदा लाग्ने यातायात खर्च मैले सुस्त मनस्थिति भएका बालबालिकाको स्कुलका लागि सहयोग गरेँ ।
अघिल्लो वर्षमा भन्दा यो वर्षमा हाम्रो दशैँ खर्च कम लाग्यो । किनकि हामीहरुले मासु र रक्सी खान छाडेका छौँ । पहिलेको दशैँमा मासु र रक्सीको लागि खर्च गर्ने रकम अहिले हामीहरुले दुर्गम क्षेत्रका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति दियौँ ।
बडा दशैँको अवसर पारेर हाम्रो गाउँका दाजुभाइले एउटा नयाँ कार्यको थालनी गरेका छौँ । अबदेखि हामीले हरेक चाडवाडका लागि छुट्याएको रकमको पाँच प्रतिशत बँचाएर भूकम्प पीडितलाई सहयोग गर्ने निर्णय गरेका छौँ ।
वडादशैँका लागि मैले नयाँ कपडा किनिन किनकि मलाई पुरानैले काम चलेको छ । बरु मैले उक्त रकम हाम्रो गाउँको पुस्तकालयमा पुस्तक किन्नका लागि सहयोग गरेँ ।
हाम्रो गाउँ जाने बाटो निकै हिलो छ । मैले मेरो वार्षिक आम्दानीको पाँच प्रतिशत रकम बँचाएर राखेको थिएँ । त्यो रकमले त्यही मेरो गाउँ जाने दश मिटर बाटो ग्राभेल गरेँ । यो वडादशैँको अवसर पारेर हामी सबै गाउँलेहरुले मैले झैँ बाटो निर्माणमा लाग्ने हो भने हाम्रो गाउँमा बाह्रैमास गाडी गुड्ने थियो । दुर्घटना पनि त्यति हुने थिएन ।
मेरो कुनै आम्दानी छैन । मैले नगद या जिन्सी सहयोग गर्न सक्दिन । तर पनि मलाई चिन्ता छैन । मैले हाम्रो गाउँका बाढीपीडितको घर निर्माणका लागि दश दश दिन श्रमदान गरिसकेको छु । त्यसैले मलाई यो वडादशैँमा केही आनन्द मिलेको छ ।
म विद्यार्थी हुँ । सहयोगका लागि नगद, जिन्सी या श्रमदान मैले गर्न सक्दिन । तर पनि मलाई चिन्ता छैन । मैले बालअधिकारको विषयमा कलम चलाउँदै त आएको छु नि ।
यसरी नै हामीले सामाजिक सेवा गरेका छौँ या छैनौँ एकपल्ट सोचौँ त । आफु मात्रै त कीटपतङ्ग र जनावरहरु पनि त बाँचिरहेका हुन्छन् । हामी सामाजिक र सचेत प्राणी मानव हुनुका नाताले यो वडादशैँलाई नयाँ ढङ्गले मनाऊँ । कसो हुन्छ ?
यसो गर्दा वडादशैँ हिन्दूहरुको मात्रै चाड हुँदैन । यो त समग्र मानव जातिको चाड बन्ने छ । यो सिर्जना र विकासको महा अवसर बन्ने छ ।
वडादशैँ कसरी मनाउने अझैसम्म योजना बनिसकेको छैन । तपाईँहरुसँग त्यस्तो राम्रो योजना छ भने लिएर आउनुहोस् न । म पनि साथ दिउँला नि ।
आपसमा लेनदेन पनि गरौँला ।
के ?
विजयादशमीको शुभकामना !

 


यस बिषयमा तपाइको प्रतिक्रिया...!