नेपाली रुपैयाँ इतिहासकै कमजोर

Posted on: 08 Mar, 2022

फागुन २४, काठमाडौँ ।  नेपाली रुपैयाँ इतिहासकै कमजोर बनेको छ । अमेरिकी डलरको भाउँ उच्च हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर देखिएको हो । मंगलबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिददर १२२ रुपैयाँ ८४ पैसाँ र बिक्रीदर १२३ रुपैयाँ ४४ पैसा तोकेको छ ।

अर्थात अब एक अमेरिकी डलर खरिद गर्नका लागि १२३ रुपैयाँ ४४ पैसा तिर्नुपर्नेछ । पछिल्लो समय लगातार अमेरिकी मुद्रा वलियो बन्दै गएको छ ।

नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहने गरेको छ । यसकारण केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुने गरेको छ ।

अमेरिकी डलरको भाउ उच्च हुँदा नेपालको अर्थतन्त्रमा केही नकरात्मक असर पर्न सक्ने अर्थविदहरुले औंल्याएका छन् । डलरको भाउ बढेलगत्तै विदेशी सामानहरू नेपालीका निम्ति महँगो हुन पुग्छन् ।

नेपालको झन्डै ७० प्रतिशत व्यापार भारतसँग हुनेगर्छ । तर भारतमै पनि भारु सस्तो हुँदा हुने महँगी यता सर्नसक्ने विज्ञहरु बताउँछन् । तर डलरको भाउ बढ्दा केही फाइदा पनि हुने गर्दछ । विदेशी मुद्राको भाउ बढ्दा त्यसले पर्यटनमार्फत् हुने आम्दानीमा वृद्धि हुन्छ ।

अर्कोतर्फ वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई पनि यसले फाइदा पुग्ने हुन्छ । कैयौंले विदेशमा कमाएको पैसा विदेशी मुद्रामा नेपाल पठाउँछन् । उनीहरूको हकमा डलरको भाउ बढ्दा नेपाल पठाउने पैसाको परिमाण बढ्न सक्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!