तलब बढ्नु स्वभाविक हो–सांसद

Posted on: 25 Nov, 2016

मंसिर १० पर्वत ।व्यवस्थापिका संसदको तलव वृद्धिको सर्वसाधारणले निन्दा गरेका छन् । पर्वतका सांसदहरुले भने तलव बृद्धि स्वभाविक भएको बताउँछन् ।
सांसदहरुको तलव वृद्धिबारे सर्वसाधारणले आलोचना गरेका छन् । तपाईको भन्नु के छ ? भन्ने प्रश्नमा नेपाली कांग्रेसका सांसद अर्जुन प्रसाद जोशीले भन्छन् – ‘तलव वृद्धि स्वभाविकै हो ।’
     त्यसैगरी नेकपा एमालेको प्रतिनिधित्व गर्ने सांसद विकास लम्साल भन्छन् (‘सांसदको तलव बढाएको भनेर बदनाम गरिदै छ । समग्रमा तलव वृद्धि बढी हैन ।’ समानुपातिक सांसद कल्पना चापागाईलाई तलव वृद्धिबारे जिज्ञासा राख्न पटक पटक फोन सम्पर्क गर्दा उनले मुख उक्काउनै खोजिनन् । सांसद चापागाईले आफू मिटिङमै भएको जवाफ दिएर टारिन् । तलव वृद्धिबारे एक शव्द खर्चिन उनले चाहिनन् । निकट स्रोतका अनुसार सांसद चापागाइ तलव वृद्धिबाट खुशी र प्रफुल्ल भएको खुलासा भएको छ ।
केही सांसदले भने तलव वृद्धिको ठाडो विरोध गरेका छन् ।  यसरी विरोध गर्नेमा नेपाली कांग्रेसका एक सांसद धनराज गुरुङ हुन् । यिनले भूकम्प पीडितले सरकारबाट घोषित राहत नपाएको अवस्थामा सांसदको तलव वृद्धि गर्नु संसदीय अभ्यास विपरित भएको बताएका छन् । सांसद गुरुङले सांसदको तलव वृद्धिको आलोचना मात्र नगरेर वृद्धि रकम आफ्नो खल्तीमा नहाल्ने घोषणा समेत गरे । उनले आफ्नो बढेको पारिश्रमिक भूकम्प पीडितलाई दिने घोषणा गरेका छन् ।
     सांसद विकास लम्साललाई सांसद धनराज गुरुङले आफ्नो तलवमा वृद्धि भएको रकम भूकम्प पीडितको कोषमा जम्मा गर्ने भएका छन् नि तपाईको केही छ कि विचार ? भनी राखेको प्रश्नमा लम्साले सो कुरालाई विश्वासै गरेनन् । सांसद लम्सालले उल्टै भने(‘कहाँको दिनु त्यो सवै नौटंकी हो । मिडिया चर्चा कमाउन त्यसो गरेका छन् । सवै सभासदले रकम लिन्छन् ।’ सांसद लम्सालले तलव वृद्धि स्वभाविक भएको बताउदै भने(‘एक अधिकृत लेवलको कर्मचारीले महिनाको ५३०० रुपैया तलव पाउँछ । सभासदको तलव उसको भन्दा बढी छैन । धेरै थरी शिर्षक देखाएर बढी बनाउन खोजिएको छ ।’ सांसद लम्सालले तलव वृद्धि धेरै समितिमा छलफल पछि मात्र भएको तर भूकम्प पीडितले राहत नपाएको बेला वृद्धि हुनु भने अलिकति राम्रो नभएको बताए ।
    नेपाली कांग्रेसका सांसद जोशी जसले ३ पटकसम्म संसदमा प्रतिनिधित्व गरिसकेका छन् जोशीले तलब वृद्धि ठीक भएको यसरी तर्क दिन्छन्( ‘ सांसदको सेवासुविधा र तलव गत १५ वर्षदेखि वृद्धि भएको छैन । सवै सांसद समान आर्थिक हैसियतका छैनन् । कतिपय सांसदलाई घरभाडा तिर्ने र न्युनतम खर्चले सताउदै आएको छ । तलव वृद्धि अहिलेको महंगी र काठमाडौ बसाईलाई हेर्ने हो भने स्वभाविक हो ।’ तलव वृद्धिलाई तपाईले पनि कुनै तरीकाले सदुपयोग गर्ने विचार बनाउनु भएको छ कि भन्ने प्रश्नमा उनले भने(‘बढेको तलवको विरोध नगर्ने तर बढेको रकम असहाय महिला, भूकम्प पीडित, दलित, सामुदायिक विद्यालयका लागि सहयोग गर्न सकिन्छ । पहिला पनि गर्दै आएको हो ।’
    व्यवस्थापिका संसदले आइतबार पारित गरेको विधेयक अनुसार सांसदहरुको मासिक पारिश्रमिक मात्र ५५ हजार २ सय ३० रुपैयाँ छ । आवास सुविधा १८ हजार छ भने टेलिफोन तथा पत्रपत्रिका खर्च ३ हजार छ । त्यस्तै धारा बिजुलीको २ हजार, अतिथि सत्कार र विशेष भत्ता मासिक एक(एक हजार पाउनेछन् । दैनिक बैठक भत्ता १ हजार र यो सहित अन्य सबै गर्दा एक जना सांसदले मासिक १ लाख भन्दा बढी पाउने छन् । ८० हजार २ सय ३० लिनेछन् । संसदले आइतबार मात्र सांसदहरुको तलबसुविधा बृद्धिसम्वन्धी विधेयक पास गरेको     थियो ।
    पर्वतका सांसदहरुले सांसद धनराज गुरुङको जस्तो गरी खुशी मनले बढेको तलव भूकम्प पीडितको नाममा दिनेछु भन्न सकेनन् । न त यति रकम यो क्षेत्रको सामाजिक सेवामा लगाउन सकिन्छ नै भन्न सके । केवल सांसद अर्जुन जोशीले नरकम तोक्नै नसके पनि केही रकम सामाजिक सेवामा लगाउने भन्ने बताएका छन् तर सभासद लम्साल र चापागाईले केही बोल्न सकेनन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!