नवलपरासीमा विद्युत् उत्पादन बन्द

Posted on: 03 Nov, 2016

कात्तिक १८, नवलपरासी । नहरमा पानी बन्द गरिएपछि नवलपरासीमा रहेको विद्युत् उत्पादन गृहमा उत्पादन बन्द हुन पुगेको छ । 

भारतले यस वर्ष पनि नहर मर्मत सम्भार गर्नका लागि भनी नहरमा पानी बन्द गरेका कारण जिल्लाको गुठीसूर्यपरामा अवस्थित विद्युत् उत्पादन गृहमा उत्पादन बन्द हुन पुगेको हो । 

पन्ध्र मेगावाट क्षमता रहेको विद्युत् उत्पादन गृहमा नहरमा पानी हुँदाको अवस्थामा समेत चार मेगावाट मात्र विद्युत् उत्पादन हँुदै आएको थियो थियो । यद्यपि अहिले नहरको सरसफाइ तथा मर्मतका लागि २५ अक्टुबरदेखि २५ नोभेम्बरसम्म भारत सरकारले पानी नहरमा बन्द गरेपछि विद्युत् उत्पादन बन्द हुन गएको हो । 

विद्युत् उत्पादन बन्द भएपछि गृहले अहिले विद्युत् आपूर्ति गर्न भारतबाट १३२ किलो भोल्ट बिजुली किनेर ३३ किभी र ११ किभी मा ट्रान्सफर गरी आपूर्ति गरेको गृहका निमित्त प्रमुख वीरेन्द्र शाहले बताउनुभयो । 

गृहमा जडित तीन वटा टर्वाइनमध्ये टर्वाइन नम्बर ३ मात्र सञ्चालनमा रहे पनि भने अन्य १ र २ नम्बरको युनिट वर्षौंदेखि बिग्रिएका कारण बन्द अवस्थामा छन् । 

टर्वाइन नम्बर १ पूर्णरुपले बिग्रिएको अवस्थामा छ भने लामो समयदेखि बिग्रेको अवस्थामा रहेको टर्वाइन नं २ को मर्मत कार्य पूरा भइसकेकाले अब नहरमा पानी आएपछि सञ्चालन ल्याउने तयारी गरिएको छ । 

अब केही सातापछि नहरमा पानी आएपछि ३ र २ नम्बरको दुईटै टर्वाइन सञ्चालनमा ल्याई करिब आठ मेगावाट विद्युत् उत्पादन गर्ने गृहले लक्ष्य लिएको छ । 

भारत सरकारले सन् १९६६ मा विद्युत् उत्पादन गृहको प्रोजेक्ट सुरु गरी सन् १९७९ मा मात्र सञ्चालनमा ल्याएको थियो । भारत र नेपालको सम्झौताअनुसार उत्पादन गृह १९८१ सालमा भारतले नेपाललाई हस्तान्तरण गरेको थियो । 

पच्चिस वर्षमा उत्पादन गृहमा जडित सम्पूर्ण टर्वाइन, जेनेरेटर र मेसिनसहित प्रविधि फेर्न पर्नेमा अहिले ३६ वर्ष भइसक्दा पनि सामान्य मर्मतका भरमा विद्युत् उत्पादन गृह सञ्चालन हुँदै आएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!