निर्यात ७.२ प्रतिशत र आयात ३.१ प्रतिशतले घट्यो

Posted on: 06 Feb, 2024

माघ २३, काठमाडौँ | चालु आर्थिक वर्ष २०८०/०८१ को पुस मसान्त सम्ममा आयात निर्यात दुवै घटेको छ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थितिसम्बन्धी प्रतिवेदनअनुसार ६ महिनामा कुल वस्तु निर्यात ७.२ प्रतिशतले घटेर ७४ अर्ब ९७ करोडमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३२ प्रतिशतले कमी आएको थियो। 

गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात १२.८ प्रतिशतले घटेको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ३७०.९ प्रतिशत र १.३ प्रतिशतले वृद्धि भएको छ। 

वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, जुस, तयारी पोसाक, अदुवा लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, चिया, ऊनी गलैँचा, रोजिन लगायतका वस्तुको निर्यात घटेको छ। 

सो अवधिमा कुल वस्तुको आयात ३.१ प्रतिशतले घटेर ७ खर्ब ६८ अर्ब १७ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २०.७ प्रतिशतले घटेको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलकबाट भएको आयात क्रमशः २.४ प्रतिशत र २५.७ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३४ प्रतिशतले बढेको छ। 

वस्तुगत आधारमा तयारी पोसाक, विद्युतीय उपकरण, एमएस तार, छड, बार तथा क्वाइल, लत्ताकपडा, सवारी साधान तथा स्पेयर पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने सुन, कच्चा सोयाविन तेल, कच्चा पाम तेल, धान तथा चामल, पेट्रोलियम पदार्थ लगायतका वस्तुको आयात घटेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!