२४ प्रतिशतले घट्यो वैदेशिक रोजगारीमा जानेको संख्या, ६ महिनामा २ लाख बढीले पाए अन्तिम श्रम स्वीकृति

Posted on: 06 Feb, 2024

माघ २३, काठमाडौँ | अघिल्लो वर्षको तुलनामा यस वर्षको ६ महिनामा अन्तिम श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या २४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको ६ महिनाको तुलनामा यस वर्ष ६७ हजार ६७३ जना कम वैदेशिक रोजगारीमा गएका छन् ।

यस्तै पुनः श्रम स्वीकृति लिनेको संख्या पनि अघिल्लो वर्षको तुलनामा करिब पाँच प्रतिशत अर्थात ७ हजार ११३ जना कम भएको छ ।पछिल्लो ६ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्या दुई लाख नाघेको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ अनुसार पछिल्लो ६ महिनामा संस्थागत एवं व्यक्तिगत गरेर २ लाख ७ हजार ९७० जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । यसै अवधिमा एक लाख ३५ हजार ४३५ जनाले संस्थागत तथा व्यक्तिगत पुनः श्रम स्वीकृति लिएका छन् । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा दुई लाख ७५ हजार ६४३ जनाले संस्थागत तथा व्यक्तिगत अन्तिम श्रम स्वीकृति लिएका थिए । एक लाख ४२ हजार ५४८ जनाले संस्थागत एवं व्यक्तिगत पुनः श्रम स्वीकृति लिएका थिए ।


यसैबिच वैदेशिक रोजगारीमा जानेको संख्या २४ प्रतिशतले घट्दा रेमिट्यान्स अर्थात् विप्रेषण आप्रवाह २५.३ प्रतिशतले बढेर सात खर्ब ३३ अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २२.६ प्रतिशतले बढेर पाँच अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!