गत महिना हालसम्मकै सबैभन्दा बढी १ खर्ब ३७ अर्ब रेमिट्यान्स भित्रियो

Posted on: 10 Nov, 2023

कात्तिक २४, काठमाडौं । गत असोज महिनामा रेमिट्यान्स आप्रवाहले हालसम्मकै उच्च रेकर्ड बनाएको छ । गत महिना मात्र १ खर्ब ३६ अर्ब ९७ करोड रेमिट्यान्स भित्रिएको हो । यो मासिक हालसम्मको अरु महिनाको तुलनामा भित्रिएको अहिलेसम्मकै उच्च रकम हो ।

असोज अघि साउन र भदौ गरि दुई महिनामा २ खर्ब २८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा असोजको एकै महिनामा मात्र १ खर्ब ३६ अर्ब ९७ करोड भित्रियो जसको कारण पछिल्लो तीन महिनाको अवधिमा कुल ३ खर्ब ६५ अर्ब ३४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।


नेपाल राष्ट्र बैंकका अनुसार यस महिनासम्म भित्रिएको रेमिट्यान्स अघिल्लो आवको यसै अवधिको तुलनामा ३० प्रतिशत धेरै हो । अघिल्लो आवको असोजमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले मात्र बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह २ अर्ब ७६ करोड रहेको राष्ट्र बैंकले जनाएको छ । जुन अघिल्लो आवको यसै अवधिको तुलनामा २५.९ प्रतिशतले धेरै हो । असोज महिनामा नेपालमा चाडबाड मनाउन ठूलो मात्रामा रेमिट्यान्स भित्रने गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!