विश्व बजारमा घट्यो कच्चा तेलको भाउ, साढे २ महिनायताकै न्यूनस्तरमा

Posted on: 07 Nov, 2023

कार्तिक २१, लन्डन । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेर साढे २ महिनायताकै न्यूनस्तरमा ओर्लिएको छ । विश्वका ठूलो तेल उत्पादक देशहरू साउदी अरब र रुसले तेलको भाउलाई टेवा दिन उत्पादन कटौतीलाई लम्ब्याउने निर्णयको प्रभावलाई चीनबाट आएको मिश्रित आर्थिक तथ्याङ्कले उल्ट्याइदिँदा मंगलबार विश्व बजारमा तेलको भाउ रातोमा आएको हो ।


लन्डनस्थित आईसी एक्सचेञ्जको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुडको भाउ २ प्रतिशत भन्दा धेरेले घटेर ८३ डलर २५ सेन्टसम्म आएको थियो । यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार साँझ ४ः३० बजेतिर ब्रेन्ट क्रुड अघिल्लो दिन बजार बन्द हुँदाको तुलनामा १ दशमलव ८७ प्रतिशतले घटेर प्रतिब्यारेल ८३ डलर ५९ सेन्टमा आएको थियो ।

न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा पनि अमेरिकी बेञ्चमार्क वेस्ट टेक्सस इन्टरमिडियटको भाउ २ प्रतिशतभन्दा धेरैले घटेर न्यूनतम प्रतिब्यारेल ७८ डलर ९७ सेन्टमा आएको थियो । यो समाचार तयार पार्दाखेरि डब्ल्यूटीआई फयूचर्स १ दशमलव ७६ प्रतिशतको कमीसहित ७९ डलर ४० सेन्टमा किनबेच भइरहेको थियो । मंगलबार ब्रेन्ट र डब्ल्यूटीआई दुबैको भाउ अगष्टको अन्त्ययताकै न्यून स्तरमा आएका थिए ।

अक्टोबरमा चीनको आयात वार्षिक र मासिक आधारमा बढेको भएपनि निर्यात निर्यात भने अपेक्षाकृत तीव्र गतिमा खुम्चिएको तथ्याङ्कले देखाएको थियो । कच्चा तेलको सबैभन्दा ठुलो आयातकर्ता र दोस्रो ठुलो प्रशोधनकर्ता देश हो चीन । चीनको आर्थिक गतिविधि सुस्ताएको वा सुस्तीको सङ्केतले विश्वको तेल बजार तरङ्गित हुन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!