डिजेल र पेट्रोलको आयात रकममा घट्यो, परिमाण बढ्यो

Posted on: 24 Aug, 2023

भदौ ७, काठमाडौँ | मुलुकमा सबैभन्दा बढी आयात हुने वस्तुमा डिजेल र पेट्रोल पर्दछ । यी दुई वस्तुको आयात साउनमा रकमका आधारमा घटेको छ भने परिमाणमा आधारमा बढेको छ । भन्सार विभागका अनुसार यो साउन महिनामा कुल ७ अर्ब ३४ करोड रुपैयाँ बराबरको डिजेल आयात भएको छ । गत वर्षको साउनमा भने ८ अर्ब ९८ करोडको डिजेल आयात भएको थियो ।

आयातित डिजेलको परिमाण भने बढेको छ । गत वर्षको साउनमा ६५ हजार १८६ किलोलिटर डिजेल आयात भएकोमा यो साउनमा ७६ हजार ७१६ किलोलिटर आयात भएको छ । अन्तर्राष्ट्रिय बजारमा आएको मूल्य परिवर्तनले यस्तो असर परेको हो ।

त्यस्तै पेट्रोलको आयात पनि रकममा घटेको छ भने परिमाणमा बढेको छ । गत वर्षको साउनमा ६ अर्ब ३८ करोड रुपैयाँ बराबरको पेट्रोल आयात भएकोमा यो साउनमा ५ अर्ब ४४ करोडको आयात भएको छ । गत वर्षको साउनमा ५४ हजार ७०४ किलोलिटर पेट्रोल आयात भएकोमा यो साउनमा ५६ हजार ९०१ किलोलिटर आयात भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!