अन्तर्राष्ट्रिय बजारमा महँगियो कच्चा तेल, नेपालमा प्रभाव पर्ने

Posted on: 09 Aug, 2023

साउन २४, काठमाडौँ | अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ । डेढ महिनाकै अवधिमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १४ डलरसम्म बढेको छ । विगत डेढ महिनादेखि कच्चा तेलको भाउ बढिरहेको हो ।  असार ९ गते डब्लूटीआई कच्चा तेलको मूल्य प्रतिब्यारेल ६९ डलर रहेकोमा  आज साउन २४ गते ८३ डलर नाघेको छ ।

त्यस्तै ब्रेन्ट तेलको मूल्य डेढ महिनामा प्रतिब्यारेल ७२ डलरबाट ८६ डलर पुगेको छ भने मुर्बान तेलको मूल्य प्रतिब्यारेल ७४ बाट ८८ डलर पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य महँगिदा प्रशोधित तेल आयात गर्ने नेपालमा त्यसको सिधा असर पर्ने गरेको छ ।


भारतीय आयल कर्पोरेसन (आईओसी)ले अन्तर्राष्ट्रिय बजारको कच्चा तेलको मूल्य, आफ्नो लागत समेत समायोजनसहित प्रशोधित तेलको मूल्य निर्धारण गरी १५–१५ दिनमा नेपाल आयल निगमलाई सूची पठाउने गरेको छ । सो सूचीका आधारमा नेपालमा पनि स्वचालित प्रणालीबाट मूल्य समायोजन हुनेछ । जसले गर्दा भारतबाट बढेर मूल्यसूची आउँदा एक सातापछि फेरि नेपालमा पनि मूल्य बढ्ने संभावना देखिएको छ । आयल निगमले अब स्वचालित प्रणालीबाट मूल्य समायोजन गर्ने घोषणा गरिसकेको छ ।

भारतले पछिल्लो समय अन्य मुलुकको तुलनामा रुसबाट सबैभन्दा धेरै परिमाणमा कच्चा तेल आयात गर्ने गरेको छ । भारतले पछिल्ला महिनामा रुसबाट औसत दैनिक २० लाख ब्यारेल कच्चा तेल भित्र्याउने गरेको ब्यापार स्रोतलाई उदृत गर्दै इकोनोमिक टाइम्सले उल्लेख गरेको छ । कच्चा तेलको मूल्य बढ्दै जाँदा रुसले भारतलाई दिने छुटको दर पनि कटौती गर्दै गएको सो सञ्चारमाध्यमले जनाएको छ । रुसी तेल आयातकर्तामा हाल भारत तेस्रो ठूलो मुलुक बनेको छ ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!