बंगलादेशले नेपालको ४० मेगावाटसम्म बिजुली किन्ने, सुनकोशी ३ पनि दुई देश मिलेर बनाउने

Posted on: 17 May, 2023

जेठ ३, काठमाडौँ | सुनकोशी तेस्रो जलविद्युत आयोजना नेपाल र बंगलादेशको संयुक्त लगानीमा निर्माण गरिने भएको छ । ६८३ मेगावाटको यो आयोजना निर्माण र विकास गर्नको लागि नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच ६ महिनाभित्र संयुक्त उपक्रममा हस्ताक्षर गर्ने निर्णय भएको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवालले जानकारी दिए ।

काभ्रेपलाञ्चोक र रामेछाप जिल्लाको सिमानामा रहेको यस आयोजनाको अनुमानित लागत १ अर्ब ४५ करोड ८० लाख अमेरिकी डलर छ ।

नेपाल बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको ५ औं बैठक बंगलादेशको पतुवाखलीमा २ दिनसम्म सञ्चालन भएको थियो । बैठकमा नेपालमा उत्पादिन ४० मेगावाटसम्मको विद्युत बंगलादेशमा निर्यात गर्नका लागि नेपाल विद्युत प्राधिकरण, एनटीपीसी विद्युत व्यापार निगम, भारत र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच विद्युत बिक्री सम्झौतामा चाँडै हस्ताक्षर गर्ने निर्णय पनि भएको छ ।

दुई देशबीच वस्तु व्यापारका लागि अन्तरदेशीय प्रसारण लाइनका सम्भाव्य विकल्पको अध्ययन गरी ६ महिनाभित्र प्रतिवेदन पेश गर्न विद्युत प्रसारण लाइनसम्बन्धी संयुक्त प्राविधिक टोलीलाई निर्देशन दिने निर्णय पनि गरिएको छ ।

वैठकमा नेपालको तर्फबाट ऊर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र बंगलादेशको विद्युत ऊर्जा तथा खनिज मन्त्रालयका सचिव मोहम्मद हबिबुर रहमान सहभागी थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!