विहारको निर्वाचन तीन चरणमा हुने

Posted on: 26 Sep, 2020

असोज १०, (रासस/पिटिआई) : भारतको विहार राज्यमा विधान सभा सदस्य चयनका लागि तीन चरणमा मतदान गराइने भएको छ । मतदान आगामी अक्टोबर २८, नोभेम्बर ३ र नोभेम्बर ७ तारिखका दिन गर्ने तय भएको अधिकारीहरुले जनाएका छन् ।  

कोरोनाभाइरसबाट सृजित महामारी चलिरहेकै बेला हुन लागेको भारतको यो सवैभन्दा ठूलो निर्वाचन मानिएको छ ।तीनै चरणका निर्वाचनको मतगणना भने नोभेम्बर १० तारिखका दिन गर्ने तालिका बनाएको निर्वाचन आयोगले शुक्रबार जानकारी दिएको छ ।  

अहिले घोषणा गरिएको निर्वाचनबाट भारतको विहार राज्य सभाका लागि २४३ जना सदस्य निर्वाचित हुनेछन् । निर्वाचन आयोगका प्रमुख आयुक्त सुनिल अरोराले मतदानको दिन विहान ७ बजेदेखि मतदान शुरु गरिने जानकारी दिनुभयो ।

कोरोनाबाट र विद्रोही समूहहरुबाट बढी प्रभावित क्षेत्रहरुमा भने केही समय थपघट गर्न सकिने पनि उहाँले स्पष्ट पार्नुभयो ।  कोरोनाभाइरसको महामारीले विश्वका धेरै देशलाई प्रभावित पारेको र धेरै देशका निर्वाचन हुन नसकिरहेका बेलामा बिहारमा निर्वाचन हुन लागेको हो । 

विहारमा गर्न लागिएको निर्वाचनका लागि कोरोनाभाइरस फैलिन नदिनका लागि विषेश स्वास्थ्य सतर्कतासहितको मापदण्डहरु तय गरिएको आयोगले जनाएको छ । 

पहिलो चरण अन्तर्गत अक्टोबर २८ तारिखका दिन हुने मतदानमा ७१ पदका लागि निर्वाचन हुनेछ भने नोभेम्बर ३ तारिखका दिन हुने दोस्रो चरणको निर्वाचनबाट ९४ जना निर्वाचित हुनेछन् । त्यसैगरी नोभेम्बर ७ तारिखका दिन हुने मतदानबाट अरु ७८ जना विधान सभा सदस्यहरु चयन हुनेछन् । 

आयोगका अनुसार निर्वाचनका लागि सात लाख सेनिटाइजर, ४६ लाख मास्क, छ लाख पिपिइ, छ लाख ७० हजार अनुहार ढाक्ने र २३ लाख जोडी हाते पञ्जाको व्यवस्था गरिएको छ ।  

यी सामग्रीहरुको प्रयोग बाहेक सामाजिक दुरी कामय गर्ने, भिडभाड गर्न नहुनेलगायतका नियमलाई पनि कडाइका साथ कार्यान्वयन गर्न आग्रह गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!