चीनले दिएको चिकित्सा सामग्री आज तातोपानी आइपुग्ने

Posted on: 27 Mar, 2020

चैत १४, काठमाडौँ | चीन सरकारले दिने चिकित्सा सामग्री तातोपानी नाका हुँदै आज नेपाल आइपुग्ने तातोपानी भन्सार कार्यालयले जनाएको छ । सरकारले चीनतर्फको नाका खोल्ने निर्णय गरेसँगै ती सामग्री तातोपानी नाका हुँदै नेपाल आउने तातोपानी भन्सारका प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो ।

सामान जाँचपासका लागि जाँचपासमा संलग्नहरुले मेडिकल प्रोटोकलको पालना गर्दै मालवस्तु जाँच गर्ने जनाइएको छ । स्वास्थ्य परीक्षणका लागि नाकामा स्वास्थ्यकर्मीको टोली तयारी अवस्थामा छ । ती सामग्रीको आयातसँगै तातोपानी नाका विधिवत् रुपमै पुनःसञ्चालन हुने खत्रीले बताउनुभयो  । ‘बिहीबार जाँचपास गर्न पत्र आएको छ, आज(शुक्रबारदेखि मालवस्तु जाँचपास सञ्चालन हुन्छ’, खत्रीले भन्नुभयो  । अहिले नाकाबाट फलफूल र चिकित्सा सागग्री मात्रै आउने गरेको छ  । तातोपानी नाका सञ्चालनका लागि सबै तयारी पूरा भएको पनि उहाँले जानकारी दिनुभयो ।


स्थानीयवासीले गरे बाटो बन्द 

सिन्धुपाल्चोकको मेलम्ची १ भोटेचौर खाल्डेमा स्थानीयवासीले बाटो बन्द गराएका छन् ।  प्रकोपका बेला ओहोरदोहोर बढी भएपछि स्थानीयवासीले रुख  तेर्साएर बाटो बन्द गरेको स्थानीयवासी रमेश चौलागाईंले जानकारी   दिनुभयो । अत्यावश्यक यातायातका साधन र व्यक्तिलाई भने अवरोध नगरिने बताइएको छ । 

सिन्धुपाल्चोकबाट काठमाडौँ ओहोरदोहोर गर्नेको सङ्ख्या निकै रहेको स्थानीयवासी बताउँछन्  ।  काठमाडौँ र सिन्धुपाल्चोकको नाकाकै रुपमा रहेको भोटेचौरमा नगरपालिकाको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था नभएकाले रोगको सङ्क्रमण बढ्न सक्ने भन्दै बाटो बन्द गरिएको स्थानीयवासीको भनाइ छ । बाटो अवरुद्ध भएपछि इलाका प्रहरी कार्यालय मेलम्चीबाट प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!