कतार रोजगारीमा सिन्डिकेट भएको पाइएन: कार्यदल

Posted on: 16 Dec, 2020

पुस १, काठमाडौँ | कतार रोजगारीमा सिन्डिकेट भए वा नभएको अध्ययन गर्न गठित कार्यदलले अध्ययन प्रतिवेदन श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसमक्ष बुझाइसकेको जनाएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल नेतृत्वको पाँच सदस्यीय समितिले उक्त  विषयमा  अध्ययन  गरेको  अध्ययन प्रतिवेदन श्रममन्त्री रामेश्वरराय यादवसमक्ष यही आइतबार बुझाएको जनाइएको छ ।

प्रतिवेदन मन्त्री यादवले अध्ययन गरिरहेको छ र अध्ययन गरेपछि उक्त प्रतिवेदन व्यवस्थापिका संसद्अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा पठाइने मन्त्रालयले जनाएको छ । विभागका महानिर्देशक दाहालले कतार ‘सिन्डिकेट’बारे सत्यतथ्य अध्ययन–अनुसन्धान गरेर प्रतिवेदन मन्त्रीसमक्ष पेस  गरिसकेको जानकारी दिए । उनले प्रतिवेदनमा कतार ‘सिन्डिकेट’को विषय मात्र नभएर कतारको रोजगारीका लागि अहिलेसम्म भएका दुई देशबीच भएका सम्झौता, नीतिगत व्यवस्था र ती व्यवस्थाको उल्लङ्घन गर्ने केही वैदेशिक रोजगार व्यवसायी  (म्यानपावर)  कम्पनीको पछिल्लो घटना क्रमसमेत समावेश गरिएको जानकारी दिए ।

महानिर्देशक दाहालले भने, “समितिले दुई सातासम्म कतारको विषयमा अध्ययन गर्ने क्रममा कानुनी अस्पष्टता भएको देखिँदैन दुई देशनै स्पष्ट भएको देखिन्छ, तर पनि नीतिगत कुरालाई केही कम्पनीले उल्लङ्घन गर्न खोजेको देखिएको छ ।” कतार रोजगारीमा पठाउन १६ म्यानपावर व्यवसायीले सिन्डिकेट गरेको भन्ने हल्ला साँचो वा झुटो हो भन्ने सवालमा समितिले दुई हप्ताको अवधिभित्र विभिन्न म्यानपावर व्यवसायीसँग सोधपुछ गरेको तर बाहिर हल्ला भएजस्तो  सिन्डिकेट भएको भन्ने प्रमाणित गर्ने नभेटिएको महानिर्देशक दाहालले जानकारी दिए ।

- आजको गोरखापत्र दैनिकमा समाचार छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!