हरितालिका व्रत र यसको महत्त्व

Posted on: 21 Aug, 2020

ज्यो पण्डित विष्णुप्रसाद खनाल  भदौ ५, काठमाडौँ । हिन्दु पात्रो अनुसार प्रत्येक संवत्सरको भाद्रशुक्ल द्वितीयाका दिन विशेष सात्विक तथा पौष्टिक आहार गरी दोस्रो दिन तृतीयामा हरितालिका तीजको व्रत बस्ने गरिन्छ । तृतीया तिथिको पर्व भएकोले तीज र साथिले हरण गरी भगवान प्राप्तिमा सहयोग गरेकाले यस दिनलाई हरितालिका भनिएको हो। यस  दिन हस्ता नक्षत्र र सोमबार परेमा अभ विशेष फलदायी मानिन्छ। 

यसपाली तृतीया तिथि २/८ बजेसम्म छ भने हस्ता नक्षत्र १/२० बजेपछि लाग्नेछ ।आफ्नो शरीरको शक्तिअनुसार निराहार, जलाहार, फलाहार, एक छाक खाने वा अत्यन्त अशक्त अवस्थामा भोजन गरेरै भए पनि हरितालिका तीजको व्रत बसेर दीप, कलश र गणेशको पूजा गरी उमामहेश्वरको पूजा गर्ने धार्मिक मान्यता छ ।  

तीजका व्रतालुले पहिलो दिन रातको १२ बजेभन्दा पहिला नै भोजन गरिसकेपछि भोलिपल्ट बिहान उठेर तिल र अमलाको चूर्णले विशेष स्नान गर्नुपर्ने शास्त्रीय विधान छ । यस दिन यथासम्भव धोती  चोलो वा शुद्ध चोखो वस्त्र लगाएर पूजाकोठा गई जप नित्यपूजा गरिसकेर प्रतिज्ञा संकल्पपूर्वक अर्घ्य स्थापना गरी दीप, कलश गणेशको पूजा गरी हाम्रो घरपरिवारमा नकारात्मक उर्जा , पाप कुकर्मबाट मुक्त भएर जन्मजन्मान्तर सौभाग्य ऐश्वर्य,सद्मार्ग अखण्डितरूपमा प्राप्त भइरहोस् भनी कामना गर्दै  बालुकाको उमामहेश्वरको षोडशोपचारले विधि पूर्वक पूजा गर्नुपर्ने व्रतराजमा उल्लेख छ ।

व्रत भनेको स्वास्थ्य विज्ञानसँग सम्बन्धित विषय हो । आफ्नो स्वास्थ्यका लागि योग गर्नु, ध्यान गर्नु, व्रत बस्नु, देवताहरूको दर्शन गर्न मन्दिर जानु, मान्यजनप्रति प्रातः कृतज्ञता ज्ञापन गर्ने उद्देश्यले दर्शन ढोगका माध्यमबाट आभार प्रकट गर्नु मानवीय कर्तव्य हुन् । शरीरको सामथ्य अनुसार व्रत, उपासना आदि कृत्यले मानिसलाई शारीरिकरूपमा सबल बनाउँदै मानसिकरूपमा पनि दृढनिश्चयी भाव विकास गराउँदैै स्वकार्य सम्पादनमा दक्षता हासिल गराउँछन् । त्यसैले व्रत, उपासना, आदि साधन हुन्, साध्य होइन । साध्य त केवल परमात्मा प्राप्ति, मोक्षप्राप्त गर्नु मात्र हो ।  व्रतले  यस लोकमा आवश्यक पर्ने सुखशान्ति एवं ऐश्वर्य उपभोग आदि प्राप्त गर्नु र परलोक साध्य कृत्यमा तल्लीन गर्नुगराउनु नै मुख्य उद्देश्य हो ।  

संकल्प वाक्यमा अरूका लागि व्रत बस्ने विधान छैन र अर्काले व्रत बसिदिएर अरूको भलो हुने विषय पनि होइन । व्रत बस्दा म यो यो नियममा रही आजको व्रत बस्छु भनी संकल्पपूर्वक व्रत बस्नुपर्छ । व्रत कसैका लागि बसिदिने विषय होइन । व्रतमा संकल्प मुख्य मानिन्छ र त्यसमा नियमादि सबै कुराको उल्लेख गरी यस प्रकारको व्रत बस्दैछु भनी प्रातः स्नान गर्दा नै आफूले लिने व्रतको स्वरूपको निर्धारण स्वयं व्रतालुले गर्छन् । व्रत बस्दा जस्तो नियम पालन गर्छु भनिन्छ त्यस्तो नियम पालन गर्ने उसै व्रतालुको मात्र विषय हो । व्रत सकेपछि भोलिपल्ट व्रतको समापन अर्थात् व्रतपारणा गर्नुपर्छ । यति गर्दा मात्र एउटा व्रत पूर्ण भएको मानिन्छ ।  

संकल्प वाक्यमा अरूका लागि व्रत बस्ने विधान छैन र अर्काले व्रत बसिदिएर अरूको भलो हुने विषय पनि होइन । अतः आफ्ना लागि आफूले भोजन गरेजस्तै व्रत बस्ने विषय पनि आफ्नो कल्याणका लागि र आफ्नै कामना पूर्तिका लागि बस्ने हो ।  पतिविनाको व्रतपूजा र पत्नीविनाको व्रतपूजा पनि निरर्थक हुने हुनाले हरितालिकालगायत सबै व्रतपूजामा हुनेले सपरिवार गर्दा राम्रो हो।  अशक्त पतिपत्नीका लागि पत्नी वा पति व्रत बस्ने भन्ने कुरा भ्रम मात्र हो । दुवै भएर व्रतको अन्त्यमा यसरी प्रार्थना गनुपर्छ भनिएको छ । `पुत्रान् देहि धनं देहि सौभाग्यं देहि सुव्रते  

अन्याश्च सर्वकामांश्च देहि देवि   नमोऽस्तु ते’  

अर्थात् हे देविदेवताहरू, यहाँलाई नमस्कार छ । हामीलाई सन्तान, धन, सौभाग्य दिनुहोस् साथै सम्पूर्ण मनोकामना पूरा गरिदिनुहोस् ।  

व्यावहारिक कठिनाइका कारण पतिको सहित स्त्रीहरूले व्रत लिएको हुनुपर्छ । व्रतविधिका दृष्टिले पत्नीले पतिको दीर्घजीवनको कामना मात्र गरेर कुनै पनि व्रत लिनू भन्ने निर्देशन धर्मशास्त्रमा पाइँदैन बरु व्रतपूजादिमा दुवैको सहभागिता वा उपस्थिति भने अनिवार्य गरिएको पाइन्छ ।

‘भत्र्रा सह कथां श्रुत्वा भक्तियुक्तेन   

चेतसा  

कृत्वा व्रतेश्वरं देवि सर्वपापैः प्रमुच्यते

सप्तजन्म भवेद् राज्यं सौभाग्यं चैव वद्र्धते’ अर्थात् पतिपत्नी सँगै चित्तलाई भक्तिमा लगाएर व्रत बसी भगवान्को महिमा वा कथा सुन्नाले सम्पूर्ण पापबाट मुक्त हुनुका साथै सात जन्मसम्म राज्य प्राप्ति वा सौभाग्य वृद्धि हुन्छ । यसरी व्रतबाट इह लौकिक सुख प्राप्ति र पारलौकिक मोक्ष रूपफल अवश्य प्राप्त हुन्छ भनी बताइएका अनेकौँ प्रसंग पाइन्छन् भने व्रत नगर्दा त्यसबाट हुने हानि पनि हुन्छन् भनिनुका साथै व्रतबाट हुने फाइदाबाट अवश्य वञ्चित भइन्छ भनिएको छ ।

तीजको व्रत र निर्जला एकादशीको व्रत सामथ्र्यअनुसार प्रायः निराहार नै लिने उल्लेख धर्मशास्त्रमा पाइन्छ । तर निराहार मात्र व्रत हो भनी किटान गरेको भने छैन। स्वस्थ शरीरका लागि व्रत बस्ने हो । अस्वस्थ एवं रोगी व्यक्तिले यथाशक्य नियममा रहेर दूध फलफूल खाएर पनि व्रतादि गर्नू भन्ने शास्त्रमै उल्लेख छ । 

‘हिताशी स्यान्मिताशी स्यात् कालभोजी जितेन्द्रियः

पश्यन् रोगान् बहून् कष्टान् बुद्धिमान् विषमाशनात्’ अर्थात् संयमित बनाउन बुद्धिमान् मानवले आफ्नो र संसारमा देखिएका अनेकौँ रोगहरू र तिनले दिने कष्टहरू विचार गरेर स्वस्थकर, थोरै, ठिक्क र तागतिलो भोजन ठीकठीक समयमा गर्नुपर्छ भन्ने शास्त्रको आशय छ।शरिरको माध्यमले धर्मसाधन गर्ने हो। यसैलाई आधार मानेर हरेक धर्मसमुदायका मानवले आआफ्नो रीतिअनुसार चाडपर्व मनाउँछन् र व्रत पनि बस्छन् । व्रतादिबाट आफूलाई संयमित बनाउन सकिन्छ भन्ने नै शास्त्रहरूको आशय छ ।  तीजको व्रत होस वा मन्दिर जाने कुरा वा श्राद्धआदि कर्म बिबाहितको हकमा दुवैजना विना पूर्ण हुदैन।

हरितालिका तीज यस्तो हो जून अवसरमा सासू बुहारीका,नन्द आमाजूका,आमा छोरीका बह, वेदना एक ठाउँमा भेला भएर समुहगतरूपमा गाइने गरिन्छ । अहिले बिद्युतीय श्रव्यदृष्य माध्यममा आउने धेरै जसो गित हरु भने नेपाली तीज गीत भनेता पनि  रत्यौली जस्ता केही गीतहरु भने केही  हाम्रो धर्म संस्कृति इतरका छन्। जहाँ न हाम्रो मौलिक वाजाक‍ो प्रयोग हुन्छ न कस्ले गाउने रहिछ भन्ने सन्देश पाइन्छ न मौलिक भाका न कुन परिवेश के भन्ने थाहा पाइन्छ आधुनिकताका नाममा केवल धर्म र संस्कृति मास्ने काम मात्र भएको छ।यस्ता चिजवाट आफुपनि बचौ अरुलाई पनि वचाउ र शुद्ध संस्कृति आउदो पिढीलाइ हस्तान्तरण गरौं ।

शिवपुराण अन्तर्गत सतिदेवीको कथा यो पर्वको मूल आधार हो । दक्ष पुत्री सतिदेवीले आफ्ना इच्छित पति शिवजीलाई प्राप्त गर्न कठोर व्रत वस्छिन् । उनको व्रतमा अनेकौँ वाधा व्यवधान आइपर्छन् । भगवान् शिव प्राप्त गर्न व्रत बसेकी सतिदेवीलाई अन्यत्रै विवाह गरिदिने माता पिताको इच्छा हुन्छ । सतिदेवीको दृढसङ्कल्पका कारण अनेकौ बाधा आए पनि आफ्नो प्रतिज्ञा भङ्ग गर्न दिन्नन् । अन्ततः सोही व्रतको प्रभावले गर्दा सतिदेवी शिवजीलाई नै प्राप्त गर्न सफल हुन्छिन् । यसरी  शिवजी र सतिदेवीको विवाह भई आनन्द पूर्वक वसेको कथा  पुराणहरूमा वर्णन पाइन्छ । तीजमा व्रत वस्दा समस्त मनोकामना पूरा हुन्छन् भन्ने यही मान्यताका  आधारमा यस दिन  शिवजीको व्रत उपवास गर्ने चलन रहेको छ ।यहीँ प्रसङ्ग भविष्योतर पुराण लगायत अरु केही पुराणमा पनि पाइन्छ। यसपालिको तीज घर्मै  वसेर भगवानको आरधना गर्दै आफ्नो परिवारसँग मनाउनु होला । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!