प्रधानमन्त्री ओलीले सिकाए पाठ: साढे २५ हजारमा स्वदेशमै उपचार

Posted on: 04 Nov, 2018

मन्जिता अधिकारी | प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार स्वदेशमै गरिनु निकै सर्हानिय काम भएको छ । आफ्नै देशमा उपचारार्थ ठूला-ठूला अस्पताल हुँदा टाउको दुखे पनि विदेश जाने नेताहरुलाई प्रधानमन्त्रीको पछिल्लो उपचार नेपालमै हुनुले ठूलो पाठ सिकाएको छ । 

प्रम ओली पाँच दिन मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार गराई प्रधानमन्त्री निवास बालुवाटार फर्किसकेको अवस्था छ । गम्भीर प्रकृतिको उपचार नेपालमै त्यो पनि जम्मा साढे २५ हजारमै । पाँच दिन उपचार गराउँदा प्रधानमन्त्री ओलीको उपचार खर्च साढे २५ हजार रुपैयाँ लागेको छ । यदी विदेशमा उपचार गराइएको थियो भने २५ लाख भन्दा बढी तिर्नुपर्ने थियो होला ! त्यसैले प्रधानमन्त्रीले नेपालमै उपचार गराएर अरु नेतालाई पनि अब नेपालमै उपचार हुने रोगको लागि पनि विदेश जान लज्जा बोध गराउन सफल भएका छन् । 

कतिपय नेताहरु आफ्नै देशमा उपचार गराउन डराउँछन् भने कति पयलाई आफू पदमा हुँदा  बिमारी होस् र विदेश जान पाइओस् भन्ने चाहना भएको जस्तै हुन्छ । साधारण उपचारको लागि पनि विदेश जाँदा राज्यले ठूलो आर्थिक भार खेप्नुपर्ने हुन्छ । त्यसो त यस अघिनै वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा आफ्नो उपचारका क्रममा राज्यको लाखौ रकम नखर्चिएको होइन । उनले पटक-पटक गरि ठूलो रकम खर्चीसकेका छन् ।

नेपालमा उपचार गराउँदा ओलीको लागि एमएमसिसियुको क्याबिन खर्चबापत १३ हजार ६ सय शुल्क र अरु सबै टेस्टहरुको शुल्कसहित जोड्दा कूल शुल्क २५ हजार ६ सय ४० रुपैयाँ उठेको अस्पतालले जनाएको छ । यदी ओली विदेशमा गएको भए यति उपचारका लागि १० लाख रुपैयाँभन्दा बढी खर्च हुने चिकित्सकहरुकै भनाई छ ।

जे होस् पछिल्लो उपचार साढे २५ हजारमै गराउन सफल भएकोमा र अरु नेताहरुलाई पनि प्रेरणा दिन सफल हुनुभएकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद र हार्दिक स्वास्थ्य लाभको कामना पनि । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!