नेपाल इन्फ्रास्ट्रक्चर बैङ्कको ८ अर्बको आईपीओ खुल्यो

Posted on: 15 Jan, 2021

माघ २, काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क (निफ्रा) को साधारण शेयर आजबाट खुला भएको छ ।  नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता धितोपत्रको प्रारम्भिक निष्काशन (आईपीओ) आजबाट बिक्री सुरु गरेको हो ।

यो हालसम्म बजारमा जारी भएका साधारण शेयरमध्येकै सबैभन्दा ठूलो हो । शुक्रबारदेखि बिक्रीका लागि खुला गरिएको यो शेयरका लागि आगामी मंगलबार साँझ ५ बजेसम्म आवेदन दिन सकिनेछ । 

नेपालकै एकमात्र पूर्वाधार बैङ्कको रुपमा रहेको इन्फ्रास्ट्रक्चर बैङ्कले आफ्नो चुक्ता पुँजीलाई २० अर्ब पुर्याउन सो बराबरको आईपीओ ल्याउन लागेको हो । ८ अर्बको रुपैयाँको ८ करोड कित्ता आईपीओमध्ये ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर सामुहिक लगानी कोषका लगानीकर्तालाई तथा ०.२० प्रतिशतले हुने १ लाख ६० हजार कित्ता शेयर कर्मचारीलाई छुट्याइएको छ । बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँट गरिनेछ ।

बैङ्कले एनआईबीएल क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । शेयरको प्रत्याभूतिकर्ता भने नागरिक लगानी कोषलाई तोकिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!