अमेरिकामा किन धमाधम बन्द हुँदैछन् बैंक ?

Posted on: 13 Mar, 2023

फागुन २९, काठमाडौँ | अमेरिकाको बैंकिङ क्षेत्रमा संकटको स्थिति आएको छ । 

सिलिकन भ्याली बैंकपछि अब सिग्नेचर बैंक पनि बन्द भएको छ । उक्त बैंकमा क्रिप्टोकरेन्सीको स्टक थियो । त्यसमा जोखिम देखिएपछि केही समयका लागि न्युयोर्कको यस क्षेत्रीय बैंकलाई बन्द गर्ने निर्णय लिइएको छ । 

बिजनेस टुडेमा प्रकाशित खबरमा उल्लेख गरिएअनुसार, फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसनले सिग्नेचर बैंकलाई आफ्नो नियन्त्रणमा लिएको छ । 


सन् २००८ मा अमेरिकामा आएको बैंकिङ संकटपछिको यो यो अर्को ठूलो संकट हो । त्यो वर्ष लेहमन ब्रदर्शले डिफल्ट घोषणा गरेको थियो । त्यसपछि अमेरिका समेत संसारभरि आर्थिक मन्दी छाएको थियो र अर्थतन्त्र सुस्त बनेको थियो ।

सिग्नेचर बैंक न्युयोर्कको क्षेत्रीय बैंक हो । गत शुक्रवा यसका शेयरमा गिरावट देखिएको थियो । 

बैंकिङ संकट चलिरहँदा अमेरिकाको ट्रेजरी डिपार्टमेन्ट र अन्य बैंक नियामकहरूले संयुक्त बयान जारी गरी सिग्नेचर बैंक वा सिलिकन भ्याली बैंकमा पैसा जम्मा गर्नेहरूलाई कुनै हानि नहुने बताएका थिए । 

यस संकटका विषयमा चर्चा गर्न अमेरिकाको फेडरल रिजर्भले आपतकालीन बैठक सोमवार बोलाएको छ । 

समाचारहरूमा आएअनुसार, फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसनले एउटा ब्रिज बैंक स्थापित गरेको छ । त्यसले सिग्नेचर बैंकमा पैसा जम्मा गर्ने र कर्जा लिने ग्राहकलाई स्वतः ब्रिज बैंकको ग्राहक बनाउँछ । 

सिलिकन भ्याली बैंक अमेरिकाको १६औं सबभन्दा ठूलो बैंक हो । नयाँ युगका प्रविधि कम्पनी र भेन्चर क्यापिटल लगानीकर्ताहरूलाई सहयोग गर्ने अमेरिकाको प्रमुख बैंक यही हो । 

विगत १८ महिनामा अमेरिकाको फेडरल रिजर्भले ब्याजदर बढाएको छ । त्यसले गर्दा प्रविधि कम्पनीहरूलाई घाटा लागेको छ । 

अमेरिकाका राष्ट्रपति जो बाइडनले बैंकिङ संकटका लागि जिम्मेवार व्यक्तिहरूलाई जवाफदेही बनाउने बताएका छन् । ठूला बैंकको सुपरीवेक्षण प्रणालीलाई बलियो बनाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे । यस्तो स्थिति पुनः आउन नदिन आफूहरू सचेत रहेको उनको भनाइ छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!