भारतमा एक मन्त्रीमाथि सुरक्षाकर्मीले नै हाने गोली, अवस्था चिन्ताजनक

Posted on: 29 Jan, 2023

माघ १५, काठमाडौँ | भारतको उडिसा राज्यका स्वास्थ्यमन्त्री नाबा दासलाई बृजराजनगरमा एक प्रहरीले आइतवार गोली चलाएर घाइते बनाएका छन् । गम्भीर अवस्थामा रहेका दासलाई अस्पतालमा भर्ना गरिएको छ । 

एउटा कार्यक्रममा सहभागी हुन गएका मन्त्री दास गाडीबाट झरेलगत्तै पाँच राउन्ड गोली प्रहार गरिएको थियो । गोली हान्ने व्यक्ति असई गोपाल दास भएको बताइएको छ । उनले किन गोली चलाएका हुन् भन्ने स्पष्ट भएको छैन । 


घटनापछि दासको पार्टी बीजु जनता दलका कार्यकर्ता धर्नामा बसेका छन् । मन्त्री दासलाई निकै नजिकबाट गोली प्रहार गरिएकाले यो सुनियोजित आक्रमण भएको बताइएको छ । यस घटनाले मन्त्रीको सुरक्षा उपायमा पनि गम्भीर प्रश्न उठाएको छ । नव किशोर दासले ओडिशाको झरसागुडा सिटमा सन् २००४ मा पहिलो पटक कांग्रेसबाट चुनाव लडेका थिए। त्यसबेला उनी हारेका थिए। त्यसपछि उनी सन् २००९ मा कांग्रेसबाटै उठे। २००९ मा जितेका उनले सन् २०१४ मा पनि त्यही क्षेत्रबाट विधानसभाको टिकट काटे। 

सन् २०१९ मा लगातार तेस्रो पटक चुनाव जितेर उनी विधायक बनेका थिए। नव किशोर दासलाई उनको क्षेत्रमा प्रभावशाली नेता मानिन्छ। नब किशोर दास सन् २०१५ मा विधानसभा सत्रका क्रममा पोर्न भिडिओ हेर्दै गर्दा समातिएका थिए। त्यसपछि तत्कालीन विधानसभा अध्यक्ष निरञ्जन पुजारीले उनलाई एक साताका लागि निलम्बित गरिदिएका थिए। यस मामिलामा नब किशोरले भने आफूले जीवनमा कहिल्यै पनि पोर्न भिडिओ नहेरेको जिकिर गरेका थिए। तर आफूले इन्टरनेट चलाउने क्रममा उक्त भिडिओ खुल्न पुगेको उनको तर्क थियो। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!