आईसीसी टी-२० वरियता: रोहित शर्मालाई पछि पार्दै रोहित पौडेल ४९औँ स्थानमा

Posted on: 14 Mar, 2024

फागुन ३० काठमाडौँ | अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको टी-२० वरियतामा नेपालका कप्तान रोहित पौडेलले ६ स्थान सुधार गरेका छन् । रोहितले ब्याटिङतर्फ ६ स्थान सुधार गर्दै ४९औँ स्थानमा उग्लिएका हुन् । यसअघि उनी ५५औँ स्थानमा थिए ।


रोहितले वरियतामा भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्मालाई पछि पारेका छन् । रोहित शर्मा ५१औँ स्थानमा छन् । भारतीय ब्याटर विराट कोहली भने रोहित पौडेलभन्दा एक स्थानमा माथि छन् ।

ब्याटिङतर्फ दीपेन्द्रसिंह ऐरीको वरियता भने ६ स्थान खस्किएको छ । यसअघि ७०औँ स्थानमा रहेका दीपेन्द्र अहिले ७६औँ स्थानमा छन् । उनी हङकङमा भएको टी-२० सिरिजमा सहभागी भएका थिएनन् ।

अलराउन्डरतर्फ भने दीपेन्द्रले ५ स्थान सुधार गरेका छन् । उनी अहिले २२औँ स्थानमा उग्लिएका छन् । यसअघि दीपेन्द्र २७औँ स्थानमा थिए । अलराउन्डरतर्फ नेपालकै कुशल मल्ल ३ स्थान सुधार गर्दै ३२औँ स्थानमा उग्लिएका छन् ।

गुल्सन झा ६ स्थान सुधार गर्दै ६६औँ स्थानमा उग्लिदा कप्तान रोहित पौडेल १८ स्थान सुधार गर्दै ७५औँ स्थानमा छन् । करण केसी ८०औँ स्थानमा छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!