बालेनको जित/हारमा खसी बाजी राख्ने खोटाङका दुई पक्राउ

Posted on: 16 May, 2022

जेठ २, काठमाडौँ | बालेन्द्र साह (बालेन)को जित/हारमा खसी बाजी राख्ने खोटाङका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङका विजय फुयाल र रमेश खड्का सोमबार पक्राउ परेका हुन् ।

यस्तो बाजी गैरकानुनी भएकाले पक्राउ गरिएको प्रहरी नायक उपरीक्षक लम्सालले बताए । साहले चुनाव जिते फुयाललाई खड्काले २८ किलोको खसी दिनुपर्ने र चुनावमा साह पराजित भए फुयालले २८ किलोकै खसी खड्कालाई तिर्नुपर्ने भन्नेबारेमा दुवै पक्षले गरेको तमसुक बाहिरिएको थियो । यदि खसी दिन नसकेमा त्यति किलोको खसीको मूल्य दिनुपर्ने उनीहरूद्वारा गरिएको तमसुकमा उल्लेख गरिएको छ ।

दिक्तेलस्थित राजन दुलालको घरमा बसेर स्थानीय दिनेश आचार्य, सुमन बास्तोला र सरोज खतिवडाको रोहबरमा उनीहरूले बाजी राखेका थिए । ‘बाजीमा रोहबरमा राखिहाले‚’ दिनेश आचार्यले भने‚ ‘तर‚ बाजीको लेनदेन कहिले भन्ने चाहिँ टुङ्गो भएको छैन ।’


यस बिषयमा तपाइको प्रतिक्रिया...!