सन्दीपलाई अधिकतम सजाय हुनुपर्ने माग राख्दै सरकारी वकिलले पनि उच्च अदालतमा

Posted on: 14 Mar, 2024

चैत १, काठमाडौँ | बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई अधिकतम सजाय हुनुपर्ने माग राखी सरकारी वकिलले पनि उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दिएको छ ।

जिल्ला अदालत काठमाडौंले आफ्नो माग दाबी भन्दा कम सजाय तोकेको भन्दै उच्च सरकारी वकिल कार्यालयले लामिछानेलाई अधिकतम सजाय हुनुपर्ने माग गर्दै पुनरावेदन निवेदन दिएको हो ।


बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले गत २५ पुसमा सन्दीपलाई ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति दिने फैसला गरेको थियो ।

सरकारी वकिलले भने पीडित बालिका रहेको दावीसहित सन्दीपलाई १३ वर्ष कैद सजायको मागदाबी गरेको थियो ।

आफ्नो मागदावी बमोजिम सजाय नभएको, पीडितलाई बालिग ठहर गरी कम सजाय भएको भन्दै जिल्ला अदालतको फैसला खारेज हुनुपर्ने माग राखेर सरकारी वकिलको कार्यालय उच्च अदालत पाटन पुगेको स्रोतले बताएको छ ।

क्रिकेटर लामिछानेले पनि जिल्ला अदालतको फैसला उल्ट्याई आफूलाई सफाइ दिनुपर्ने माग गर्दै उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दिइसकेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!