इलाम २ मा नेकपा एसका उम्मेदवार जीतबहादुर राई

Posted on: 27 Mar, 2024

चैत १४, काठमाडौँ । सत्ता गठबन्धनको एक घटक नेकपा एकीकृत समाजवादीले पनि इलाम २ मा उम्मेदवारको नाम टुंग्याएको छ । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि नेकपा एसले जीतबहादुर राईलाई अघि सार्ने भएको हो ।

पार्टीको जिल्ला कमिटी सचिवालय सदस्य रहेका राई गत मंसिरमा गाउँपालिका अध्यक्षमा पराजित भएका थिए । इलामको माई जोगमाई गाउँपालिकामा गठबन्धनबाट उम्मेदवार बनेका जीतबहादुर एमालेका कुशबहादुर थेबेसँग २२२ भोटले पराजित भएका हुन् । थेबेले ५ हजार १३५ मत ल्याउँदा राईले ४ हजार ९१३ मत पाएका थिए ।


नेकपा एसले उनै जीतबहादुरलाई आसन्न उपचुनावमा सांसदको टिकट दिने निर्णय गरेको हो । २०७४ सालको स्थानीय तहको चुनावमा भने राईले माई जोगमाई गाउँपालिका अध्यक्ष एमालेबाट जितेका थिए ।

एमाले विभाजनमा माधव नेपाललाई साथ दिएर नेकपा एसमा लागेका उनी ७९ मा भने एमालेकै उम्मेदवारसँग पराजित भए ।

२०७९ को निर्वाचनमा यहाँ नेकपा एसले समानुपातिकतर्फ ५८६ मत पाएको थियो ।

दिवंगत नेता सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त इलाम २ मा नेकपा एमालेले उनै सुवासका कान्छा छोरा सुहाङलाई उठाउने निर्णय गरिसकेको छ । गठबन्धनकै घटक माओवादीले आज यहाँ आफ्नै उम्मेदवार अघि सार्ने निर्णय गरेको छ । पहिचानवादीले डाकेन्द्र थेगिमलाई उम्मेदवार बनाउने भएको छ ।

रास्वा र नेपाली कांग्रेसले भने उम्मेदवार टुंग्याइसकेका छैनन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!