रवि लामिछानेमाथि राहदानी प्रकरणमा मुद्दा चलाउन नपर्ने सरकारी वकिल कार्यालयको ठहर

Posted on: 19 Mar, 2023

चैत ५, काठमाडौँ | काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले राहदानी प्रकरणमा रवि लामिछानेविरुद्ध मुद्दा चलाउन नपर्ने निर्णय गरेको छ । प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन पठाएपछि जिल्ला सरकारी वकिल कार्यालयले फागुन ३० गते उक्त निर्णय गरेको हो ।


काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले लामिछानेविरुद्ध मुद्दा चलाउन आवश्यक प्रमाणहरू नभेटिएकाले उक्त निर्णय गरिएको बताए ।

‘उहाँले नागरिकता र पासपोर्टसम्बन्धी कसुर गरेको भन्ने प्रमाणहरू भेट्न सकिएन’, न्यौपानेले भने । जिल्ला सरकारी वकिल कार्यालयले सदरका लागि फाइल उच्च सरकारी वकिल कार्यालय पठाएको छ ।

उच्च सरकारी वकिल कार्यालयले सदर गरेर महान्यायधिवक्ता कार्यालय पठाउनुपर्ने छ । अन्य उच्च सरकारी वकिल कार्यालयले मुद्दा चलाउनुपर्ने लागेमा जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिने छ । महान्यायधिवक्ता कार्यालयले मुद्दा चलाउनुपर्ने वा जिल्ला र उच्च सरकारी वकिल कार्यालयको निर्णय सदर गर्नुपर्ने छ ।

यसअघि विदेशी नागरिकता लिएको अवस्थामा पुरानै नेपाली नागरिकता लिएर नेपाली पासपोर्ट लिएको भन्दै उनीमाथी मुद्दा चलाउनु्पर्ने भन्दै काठमाडौं प्रहरीमा जाहेरी परेको थियो । काठमाडौं जिल्ला सरकारी वकिल प्रमुख न्यौपानेले लामिछानेले विदेशी नागरिक भइसकेको अवस्थामा पुरानै नेपाली नागरिकताको प्रयोग गरेर नेपाली पासपोर्ट लिएको देखिएपनि त्यसको दुरुपयोग भएको नदेखिएको बताए ।

‘रविजीले पुरानै नेपाली नागरिकता प्रयोग गरेर पुरानै नम्बरको नेपाली पासपोर्ट निकालेको अवस्था छ’, न्यौपानेले भने, ‘त्यसरी लिएको पासपोर्टको उहाँले प्रयोग गरेको रेकर्ड अध्यागमन विभागको रेकर्डबाट देखिँदैन ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!