बेलायत पठाउँछु भन्दै ठगेको आरोपमा एकजना कन्सल्टेन्सी संचालक पक्राउ

Posted on: 20 Nov, 2022

मङ्सिर ४, काठमाडौँ | बेलायत पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एकजना कन्सल्टेन्सी संचालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बुको थुलुङ गाउँपालिका-२ घर भएर मैतिदेवी बस्दै आएका तिलक बहादुर बस्नेत रहेका छन् ।

काठमाडौंको पुतलीसडकमा उनले ‘रेडजोन फाउन्डेशन’ कन्सल्टेन्सी संचालन गरेका छन् ।


उनले संचालन गरेको कन्सल्टेन्सी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाबाट अनुमति नलिई संचालन गरेको देखिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले बताए ।

मंसिर १ मा पक्राउ परेका बस्नेतले ‘अमेरिका र बेलायतको भिषा उपलब्ध गराउँछु’ भनेर पीडितहरूबाट ११ लाख २० हजार ठगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

उनलाई ठगी मुद्दामा थप अनुसन्धान र कारबाही गर्न जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको एसपी कोइरालाले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!