सन् २०२५ देखि ईपीएसका लागि कोरियाले मागको तेब्बर बढीमात्रै आवेदन लिने

Posted on: 03 May, 2024

बैशाख २१, काठमाडौँ । दक्षिण कोरियाले सन् २०२५ देखि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया भाषा परीक्षाका लागि माग सङ्ख्याको तेब्बर बढीमात्रै आवेदन लिने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग ईपीएस कार्यालय, एचआरडी कोरियाबिच विभिन्न चरणमा भएको छलफलपछि यस्तो सहमति भएको हो । माग सङ्ख्याको आधारमा निकै बढी आवेदन पर्न थालेको भन्दै आवेदनकर्ताको लागि सीमा तोकिएको हो । ईपीएस कोरिया शाखाकी निर्देशक मैया कँडेलले सन् २०२५ देखि मागसङ्ख्याको तेब्बर बढीमात्रै आवेदन सङ्कलन गरिने बताइन् । माग सङ्ख्याको तेब्बर बढी आवेदन परेसँगै अटोमेटिक रूपमा फारम बन्द हुने उनको भनाइ छ । 


आवेदनकर्ताको चाप निकै बढी हुने वर्षभरि नै परीक्षा गर्नुपर्ने बाध्यता अन्त्य गर्न यस्तो व्यवस्था गर्न लागिएको उनको भनाइ छ । 

साथै सन् २०२५ देखि कोरियाले लैजाने सबै क्षेत्र (सेक्टर)का लागि एकै पटक आवेदन आह्वान गर्ने भएको छ । हाल कोरियामा विभिन्न चार क्षेत्रमा काम गर्न नेपाली कामदार जाने गरेका छन् । त्यसका लागि फरकफरक समयमा आवेदन आह्वान गर्ने गरिएको छ । जसले गर्दा कोरियन भाषा पढेर कोरिया जान तयार रहेकाहरूले सबै क्षेत्रमा आवेदन दिने गरेका छन् । अब भने वर्षको एक पटक सबै क्षेत्रका लागि आवेदन आह्वान गर्न लागिएको निर्देशक कँडेलले बताइन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!