बैतडीको दोगडाकेदार गाउँपालिकाद्वारा पूर्वशिक्षा सचिव गिरी सम्मानित

Posted on: 11 Oct, 2019

असोज २४, बैतडी | दोगडाकेदार गाउँपालिकाले पूर्वशिक्षा सचिव जयराम गिरीलाई सम्मानित गरेको छ । नेपालको शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान दिएको भन्दै पूर्वसचिव गिरीलाई उहाँको गृह जिल्लामा दोसल्ला ओढाइ कदरपत्रसहित सम्मानित गरिएको हो । 

दोगडाकेदार गाउँपालिका शिक्षा शाखाले सनातन धर्म मावि श्रीकोटमा आज गाउँपालिकास्तरीय प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षका लागि आयोजना गरेको ‘वर्तमान शिक्षा प्रणाली र स्थानीय तहको भूमिका’ विषयक अन्तक्र्रियामा पूर्व सचिव गिरीले स्थानीय तहले पाठ्यक्रम निर्माण गर्दा स्थानीय कला, संस्कृति, वेषभूषालगायतलाई समेट्नुपर्नेमा जोड दिनुभयो । न्यून विद्यार्थी भएका विद्यालयलाई समायोजन गरी शिक्षाको गुणस्तर सुधार गर्न सकिने उहाँको भनाइ थियो । 

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष चक्र कार्की, शिक्षा शाखा संयोजक भरतसिंह महरा, रौलेश्वर मावि मल्लाढीकका प्रधानाध्यापक दलबहादुर कार्कीलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । उक्त कार्यक्रममा ६१ विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकको सहभागिता रहेको दोगडाकेदार गाउँपालिकाका शिक्षा शाखा प्रमुख हरि नाथले जानकारी दिनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!