निर्माण शुरु भएको चार वर्षसम्म अलपत्र पुल

Posted on: 01 Mar, 2021

फागुन १७, सर्लाही । सर्लाहीको र लालबन्दी जोड्ने पाँचकुमारी खोलाको पुल चार वर्षदेखि अलपत्र अवस्थामा छ । आर्थिक वर्ष २०७४÷७५ बाट निर्माण शुरु भएको सो पुल निर्माण शरु भएको चार वर्ष बितिसक्न लाग्दा पनि निर्माण कार्य अलपत्र अवस्थामा परेको हो ।

हरिपुर नगरपालिका–८ र लालबन्दी नगरपालिका–४ को सिमानामा रहेको पाँचकुमारी खोलामा दुई खम्बा भएको पक्की पुल निर्माण शुरु गरिएको चार वर्षसम्म पनि जनप्रतिनिधिको लापरवाहीका कारण निर्माण सम्पन्न हुन नसकेको स्थानीयवासीेले बताएका छन् । हरिपुर नगरपालिकाको रु २५ लाख र लालबन्दी नगरपालकाको रु १० लाख गरी ३५ लाखको लागतमा निर्माण सम्पन्न गर्ने गरी शुरु भएको पुलको हालसम्म निर्माण उपभोक्ता समितिमार्फत नै काम भएको र विभिन्न चरणमा गरी रु २५ लाख रकम सकिसकेको पुल निर्माण उपभोक्ता समितिले जनाएको छ । 

आव २०७४÷७५ मा नगरले रु पाँच लाख, आव २०७५÷७६ मा नगरले रु १० लाख लालबन्दी नगरपालिकाले रु १० लाख रकमको व्यवस्था गरेको थियो । आव २०७७÷७८ मा पनि हरिपुर नगरपालिकाले रु १० लाख रकमको व्यावस्था गरेको छ । 

लालबन्दीतर्फको क्षेत्रमा पुलको माथिल्लो भौतिक संरचना निर्माण भइसकेको भए पनि मानिस अहिले पनि  खोलाबाटै आवतजावत गर्न बाध्य छन् । हरिपुरतर्फको क्षेत्रमा माटो भर्ने, ढङ्गा जाली लगाउने काम बाँकी नै रहेको हरिपुर नगरपालिका–८ का वडाध्यक्ष हरिबहादुर थापाले बताउनुभयो । 

उपभोक्ता समितिमार्फत निर्माण शुरु गरिएको पुलको हालसम्म तीनवटा निर्माण उपभोक्ता समिति गठन गरिसकिएको वडाध्यक्ष थापाले जानकारी दिनुभयो । वडाध्यक्ष थापाले हरिपुर नगरपालिकाका नगर प्रमुख मन्सुरले पुल निर्माण कार्यमा रकमको उचित व्यवस्था नगर्दा निर्धारित समयमा पुल निर्माण हुन नसकेको आरोप लगाउनुभयो । 

नगर प्रमुख मन्सुरले निर्माण उपभोक्ता समितिमार्फत काम गर्दा गुणस्तरीय काम हुने भएका कारण आफूले निर्माण उपभोक्ता समितिमार्फत काम गर्न लगाएको बताउनुभयो । उहाँका अनुसार पुल निर्माणको काम करीब ७० प्रतिशत सकिएको र अबको केही महिनाभित्रमा पूरै काम सम्पन्न हुने छ ।

आरोप प्रत्यारोपमा रुमलिँदै नूनथर 

सर्लाही र रौतहटको सिमानामा रहेको वाग्मती नदी किनारमा पर्ने नूनथर क्षेत्रमा अझै अपेक्षाकृत विकास हुन नसकेको स्थानीयवासीको गुनासो छ । प्रदेश २ कै उत्कृष्ट पर्यटकीय गन्तव्य चन्द्रपुर नगरपालिका–१ मा पर्ने नूनथर क्षेत्रका लागि पटकपटक विभिन्न शीर्षकमा बजेट विनियोजन भएको भए पनि बजेटको सदुपयोग नभएको स्थानीयवासीले गुनासो गरेका छन् । 

बजेटअनुसारको विकासको काम नभएको र भएका काम पनि गुणस्तरहीन भएको स्थानीयवासीको भनाइ छ । पहुँचवालाले स्थानीय विकासको नाममा नदी दोहन गरिरहेका उनीहरुको आरोप छ । उपभोक्ता समितिमार्फत भएको योजनामा एकलौटी तरिकाले काम गरेको र समितिका पदधिकारीसँग सल्लाहसमेत नगरेको स्थानीय कपिल माझीले गुनासो गर्नुभयो । 

नूनथर क्षेत्र प्रवेशमा लिइँदै आएको शुल्कको रकम पनि अनियमित हुने गरेको आशङ्का सर्वसाधारणले गरेका छन् । चन्द्रपुर नगरपालिकालाई राजश्व दाखिलासमेत नगरी चन्द्रपुर नगरपालिका–१ का वडाध्यक्ष वीरबहादुर रखालले रकम अपारदर्शी ढङ्गले असुल्ने गरेको पाइएको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीले  बताउनुभयो ।

वडाध्यक्ष रखालले भने प्रक्रिया सङ्गत ढङ्गले काम गरेको बताउनुभयो । नूनथर विकास समितिले प्रक्रियासङ्गत तरिकाले काम गरेको उहाँको भनाइ छ । उहाँले नगरपालिका र नूनथर विकास समितिले सिधैँ सम्झौता गरेर काम गरेको पनि बताउनुभयो । चन्द्रपुर नगरपालिकाको लेखा अधिकृत कृति सुवेदीका अनुसार नूनथर विकास समितिले प्रवेश शुल्क काट्दा ३० प्रतिशत नगरपालिकाको राजश्व शाखामा बुझाउने र बाँकी रहेको ७० प्रतिशत नूनथर विकास समितिमा राखेर सरसफाइलगायतको काममा खर्च गर्ने नगरपालिका नगर कार्यपालिकाले निर्णय नै गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!