२० वर्षका युवाको समूहले अनलाइनमार्फत ठगी गर्‍यो आधा करोड

Posted on: 03 Mar, 2024

फागुन २०, काठमाडौं | २० वर्षदेखि २४ वर्ष उमेर समूहका चार युवक मिलेर आधा करोड रुपैयाँ ठगी गरेको पाइएको छ। ठगी आरोपमा चार जनालाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको छ। 

पक्राउ पर्नेहरुमा सर्लाहीको विष्णु गाउँपालिका–४ का २० वर्षीय सिद्धार्थकुमार सिंह, सोही ठाउँकै २१ वर्षीय आदित्यकुमार सिंह, बाराको कलैया उपमहानगरपालिका–११ का २२ वर्षीय राम सेवक रामर पर्साको वीरगञ्ज महानगरपालिका–१५ का २४ वर्षीय आकाश साह सोनार छन्।


उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो। सामाजिक सञ्जाल फेसबुक, ह्वाट्स एप, इमो, भाइबर, टिकटक, इन्स्टाग्राम लगायत एपहरुको प्रयोग गरी उनीहरु ठगी गरेको गरेको भन्दै उजुरी परेको थियो। 

सामाजिक सञ्जालमा अकाउन्ट खोल्ने र साथी बनाई कुराकानी गर्ने, त्यसपछि विभिन्न प्रलोभन देखाएर रकम माग गर्ने तथा डिपोजिट गर्न लगाएर ठगी गरेको प्रहरीले जनाएको छ। उनीहरुले महँगो ब्राण्डका मोबाइलहरु सस्तोमा खरिद बिक्री गर्ने बताउँदै भिडिओ समेत बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्दै विश्वास दिलाएर ठगी गर्ने गरेका थिए। 

यसरी उनीहरुले ५ जनाबाट मात्रै ४९ लाख ५८ हजार ८ सय रुपैयाँ ठगी गरेको भन्दै उजुरी परेको थियो। उनीहरुले एटिएममार्फत पनि रकम भुक्तानी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!