१४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, नगर प्रहरी र सरकारी कर्मचारी सहित ९ जना आरोपित

Posted on: 15 Jan, 2024

माघ १, मुगु | मुगुमा १४ वर्षीया बालिकामाथि चार महिनाअघि सामूहिक बलात्कार भएको खुलेको छ। बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ भने अन्य चार जना फरार रहेका  छन्। 

छायाँनाथ रारा नगरपालिका–१४ घर भई हाल गमगढी बजारमा बस्दै आएकी बालिकामाथि  ९ जनाले सामुहिक बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ। 

सामूहिक बलात्कारमा परेकी बालिकाको गर्भमा बच्चासमेत रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक (डिएसपी) विरेन्द्रबहादुर थापाले बताए । 

गत भदौमा भएको बलात्कार घटनामा नगर प्रहरी, सरकारी कार्यालयका कर्मचारी र केही स्थानीय व्यक्तिमाथि आरोप लगाइएको छ । बालिकाको गर्भमा भ्रूण हुर्कँदै गएपछि घटना सार्वजनिक भएको हो । 

थापाका अनुसार छायाँनाथ रारा नगरपालिका–५, कार्कीवाडाका ३० वर्षीय नगरप्रहरी बसन्तबहादुर कार्की, कृषि विकास कार्यालय गमगढीमा कार्यरत कार्यालय सहयोगी सोरु गाउँपालिका–८ का २२ वर्षीय बसन्त रोकाया लगायत १४ वर्ष मुनिका ३ जना नाबालकहरूलाई पक्राउ गरेको बताए। 

बलात्कारमा संलग्न भएको आरोप लागेका कृषि विकास कार्यालयका सवारी चालक पदमबहादुर कठायत र अन्य ३ जना नाबालकहरू भने फरार रहेका छन्। बालिकाले दिएको जाहेरीका आधारमा उनीहरूले भदौ र असोजमा गरी पटक–पटक बालिकामाथि सामुहिक बलात्कार गरेको खुलेको मुगुका प्रहरी नायव उपरीक्षक (डिएसपि) थापाले जानकारी दिए।

बालिकाले दिएको जोहरीअनुसार १० असोजमा नगर प्रहरी बसन्तबहादुर कार्कीले डेरामा आएर एकछिन काम छ भन्दै बाहिर बोलाएका थिए। डेराबाहिर आएकी बालिकालाई उनले हातमा समाएर कृषि विकास कार्यालयको भवन पुर्याएका थिए।

त्यसपछि अनेक लालचमा पारेर नगर प्रहरी कार्की, बसन्त रोकाया र पदमबहादुर कठायतले आफूलाई करणी गरेको बालिकाको आरोप छ। प्रहरीले पक्राउ परेकाहरूविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको जनाएको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!