मुगु नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्र, कर्णाली अञ्चलको उत्तरी भेगमा अवस्थित विकट,दुर्गम र पिछडिएको पहाडी जिल्ला हो। यस जिल्लामा मुगु कर्णाली, हुम्ला कर्णाली जस्ता सदावहार नदीहरू अनेक खोलानाला र झरनाहरू रहेका छन। नेपालको सबभन्द ठूलो तालको परिचय पाएको रारातालपनि यहि जिल्लाम रहेको छ। राष्ट्रिय चरा डाँफे, कालिज र कस्तुरी लगायतका जनावर पाइने रारा राष्ट्रिय निकुञ्ज पनि यो जिल्लाको अर्को परिचय हो।
आर्थिक सामाजिक तथा राजनैतिक विकासको दृष्टिकोणले अत्यन्तै पिछडिएको यस जिल्लाको प्रमुख आर्थिक क्रियाकलापमा कृषी, पशुपालन, घरेलु उद्योग र जडीवुटी प्रमुख रहेका छन। स्वास्थ्य शिक्षा जस्ता सामाजिक क्षेत्रमा अत्यन्तै पछाडी परेको मुगुका जनताले सडक यातायातको अभावमा अनियमित र महँङ्गो खाद्यान्न तथा औषधोपचारको सामना गरिरहनु परेको छ।
मुगु जिल्ला भौगोलिक विविधतासँगै धार्मिक सांस्कृतिक तथा भेष भूषामा पनि विविधता भएको जिल्ला हो। कुनै ठाउँमा भोटेसेलो छ भने, अर्को ठाउँमा देउडा गीत। त्यसैगरी यस जिल्लामा असुरो देखि यार्चागुम्बा र सिसौ देखि देवदार जस्ता काठहरू पाइने हुनाले यहुको प्राकृतिक सम्पदामा पनि निकै विविधता पाइन्छ। त्यसै गरी तराईको गर्मी हावापानी फल्ने आँप, केरा, ऊखु, पहाडमा पाइने सुन्तला र हिमालमा पाइने स्याउ, नास्पाती जस्ता फलहरू पाइनुका अतिरिक्त बाबियो घाँस देखि बुकी फूल सम्म पाइन्छ। यस जिल्लाको सदरमुकाम गमगढी बजार प्रसिद्ध रारातालको उत्तर-पूर्वमा तथा प्रसिद्ध मुगु कर्णाली नदीको किनारमा रहेको छ। यो श्रीनगरगाविसमा अवस्थित छ। गमगढी बजारको उचाई समुद्री सतह देखि २,२६६ मिटर छ।
जिल्लाको नामाकरण
पौराणिक किम्बदन्ती अनुसार विभिन्न भनाईहरू रहेतापनि यस जिल्लाको उत्तरी भेगको इलाका नम्बर ३मा पर्ने मुगु गाउँको नामबाट यस जिल्लाका नाम मुगु रहन गएको हो।
भौगोलिक अवस्थिति
अक्षांश: २२ डिग्रि ४६ मिनेट ४०" देखि २९ डिग्रि ५६ मिनेट ३०" उत्तर
देशान्तर: ८१ डिग्रि ४६ मिनेट ४०" देखि ८२ डिग्रि ४९ मिनेट ५७" पूर्व
सिमाना: पूर्व-डोल्पा, पश्चिम- बाजुरा, उत्तरमा हुम्ला र दक्षिणमा जुम्ला र कालिकोट जिल्ला
क्षेत्रफल: ३,५३५ वर्ग किलोमिटर
सदरमुकाम: गमगढी, श्रीनगर गाविस