कुर्था–बिजुलपुरा रेलमार्ग छिट्टै नेपाललाई हस्तान्तरण गरिने

Posted on: 22 Dec, 2022

पुस ७, काठमाडौँ | जयनगर–बर्दिवास रेलमार्गअन्तर्गत कुर्थाबाट बिजुलपुरासम्मको रेलमार्ग निर्माण लगभग सकिएको छ । सो खण्डमा आवासलगायतका थोरै निर्माण बाँकी रहेको र धेरै काम सकिएकाले भारतीय पक्षले हस्तान्तरण गर्न नेपाल सरकारलाई जानकारी गरेको रेल विभागले जनाएको छ । 

भारत सरकारले नेपाल सरकारलाई हस्तान्तरण गर्ने कुरा सुरु गरेको विभागका प्रवक्ता (सिनियर डिभिजनल इञ्जीनियर) अमन चित्रकारले बताउनुभयो । उहाँले भन्नुभयो, “अब छिट्टै नै यो खण्ड सरकारलाई हस्तान्तरण हुनसक्छ ।”

बाँकी रहेका थोरै काम भारतीय पक्षले नै गर्ने प्रवक्ता चित्रकारले जानकारी दिनुभयो । पहिले हस्तान्तरण भएपछि नै बाँकी काम गरिसकिने उहाँको भनाइ छ । अहिले नै निर्माण शतप्रतिशत सकिएको नभए पनि जति संरचना सकिएको छ त्यो हस्तान्तरण गर्न भारतीय पक्षले भनेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो तर्फबाट निर्णय भएपछि हस्तान्तरण हुनेछ ।”

कुर्था–बिजुलपुरा रेलमार्ग निर्माणः ९० प्रतिशत सम्पन्न « रिपोर्टर्स नेपाल

अहिले भारतको जयनगरबाट धनुषाको कुर्थासम्म रेल सञ्चालनमा रहेको छ । रेलमार्ग हस्तान्तरण भएपछि महोत्तरीको बिजुलपुरासम्म नै रेल सञ्चालन गर्न सकिने प्रवक्ता चित्रकारले जानकारी दिनुभयो । अहिले नै कुर्थाबाट रेल बिजुलपुरासम्म जानसक्ने भइसकेको छ । रेल नियमितरूपमा बिजुलपुरासम्म सञ्चालन गर्न थप जनशक्ति आवश्यक हुनेछ । उहाँले भन्नुभयो, “भारत सरकारले हस्तान्तरण गरेर नेपाल रेल्वे कम्पनीले आवश्यक जनशक्तिको व्यवस्थापन गरेर रेल चलाउन सक्नेछ ।”

भारतीय अनुदान सहयोगमा निर्माणाधीन सो रेलमार्गको मुख्य पूर्वाधारको काम सकिएको छ । बिजुलपुराबाट महोत्तरीको बर्दिवाससम्मको निर्माण पनि भारतीय पक्षले नै गर्नेछ । कुर्थासम्म रेलको लाइन पुरानो नै भएकाले जग्गाको ठूलो समस्या नभए पनि बिजुलपुराबाट बर्दिवास खण्डमा जग्गा प्राप्ति गर्नुपर्ने रेल विभागले जनाएको छ । अहिले धेरै जग्गा प्राप्त भइसकेकाले निर्माणमा जान सकिने प्रवक्ता चित्रकारले जानकारी दिनुभयो । 

भारतीय पक्षले कुर्थासम्मको खण्डमा पहिले रेलमार्ग भएकै ठाउँमा पुराना सबै पूर्वाधार हटाएर नयाँ निर्माण सुरु गरेको थियो । पहिले ‘न्यारो गेज’ मा निर्माण भएकामा अहिले ‘ब्रोड गेज’ मा निर्माण भएको हो । यो रेलमार्ग निर्माणमा प्राविधिक र आर्थिक दुवै पक्ष भारतीय सहयोगमा भएको हो । हाल सञ्चालनमा रहेको रेल सेट भने नेपाल सरकारले भारतीय सरकारी कम्पनीसँग खरिद गरेको रेल विभागले जनाएको छ । 

जयनगरबाट जनकपुर, कुर्था, बिजलपुरा हुँदै सो रेलमार्ग बर्दिवाससम्म पुग्नेछ । नेपाल सरकार आफैँले निर्माणअघि बढाइरहेको पूर्व–पश्चिम रेलमार्ग पनि बर्दिवास नै भएर अघि बढ्नेछ । यी दुवै रेलमार्ग बर्दिवासमै भेटिने गरी योजना बनाइएको छ । 

पहिलो खण्डमा कुर्थासम्मको निर्माण सकिएपछि नै बिजुलपुरासम्मको निर्माण अघि बढाइएको थियो । यो खण्ड सकिएकाले अब बर्दिवाससम्मको निर्माण अघि बढाइने विभागले जनाएको छ । लामो समयसम्म जग्गा विवादकै कारण कुर्था–बिजुलपुरा रेलमार्ग निर्माण अघि बढ्न सकेको थिएन भने त्यो टुङ्गिएसँगै रेलमार्ग निर्माण गरिएको हो ।

सन् २०१० मा तत्कालीन राष्ट्रपति रामवरण यादवको भारत भ्रमणका क्रममा दुई देशका सीमा जिल्ला जोड्ने गरी पाँच ठाउँमा रेलमार्ग निर्माण गर्ने सहमति भएको थियो । भारत सरकारको अनुदान सहयोगमा पाँच स्थानमा रेलमार्ग निर्माण गर्ने भनिए पनि एउटा यो र अर्काे जोगबनी–विराटनगर रेलमार्गमा मात्रै निर्माण भइरहेको छ । त्यसबाहेकका न्यू जलपाइगुडी–काँडडभिट्टा, नौतनवा–भैरहवा र रुपैडिया–नेपालगञ्ज क्षेत्रमा भने निर्माण सुरु हुनसकेको छैन । 

नेपालमा राणाकालमै विसं १९८४ तिर भारतको रक्सौलबाट नेपालको अमलेखगञ्ज तथा विसं १९९४ तिर जयनगरबाट जनकपुरसम्म रेलसेवा थियो । त्यो बन्द भएको लामो समयपछि नयाँ प्रविधिको रेलमार्ग निर्माण गरिएको हो । 

जयनगर–कुर्था रेल सञ्चालनकै लागि सरकारले दुई सेट रेल खरिद गरेको थियो । कुर्थाबाट जयनगरसम्मको रेलमार्गको निर्माण झण्डै तीन वर्षपछि विसं २०७८ चैत २१ गतेबाट सो रेलमार्ग सञ्चालन भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा रेलको भर्चुअल उद्घाटन गर्नुभएको थियो । अहिले रेल नियमित सञ्चालनमा रहेको छ ।

कुर्थादेखि बिजुलपुरासम्म रेलमार्ग १७ किमी रहेको छ । जयनगरबाट बिजुलपुरासम्म रेलमार्ग निर्माण हुँदा जम्मा ५२ किमीमा रेल सञ्चालन हुनेछ । बर्दिवाससम्म नै खण्डमा निर्माण सकिँदा यो रेलमार्गको जम्मा लम्बाइ झण्डै ७० किमीको हुने बताइएको छ ।

अहिले सरकारले आफ्नै लगानीमा पूर्व–पश्चिम रेलमार्ग अघि बढाइरहेको छ । अपर्याप्त बजेटका कारण निर्माणले गति लिइरहेको छैन । भारत सरकारले काठमाडौँ–रक्सौल र चीन सरकारले काठमाडौँ–केरुङ रेलमार्ग निर्माणमा चासो देखाएको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!