एमाले महोत्तरी अधिवेशन: सहमति हुन नसकेपछि चुनावी प्रक्रिया सुरू

Posted on: 07 Feb, 2024

माघ २४, महोत्तरी | नेकपा एमालेको महोत्तरी जिल्ला अधिवेशन सहमतिमा हुन नसकेपछि निर्वाचन प्रक्रियाअगाडि बढाइएको छ । पछिल्लो डेढ दशकयता तदर्थ समितिको भरमा चल्दै आएको एमालेको छैटाैँ अधिवेशन सहमतिमा हुन नसकेपछि २ वटा प्यानलबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो ।

 माघ २२ गतेबाट सुरु भएको अधिवेशन  सहमतिमा गर्नुपर्ने शीर्ष नेताहरुले जोड दिए पनि चुनावी प्रतिस्पर्धा गर्नुपर्ने माहोल सिर्जना भएको  निवर्तमान अध्यक्ष कालिचरण साहले जानकारी दिए । अहिले बलिराम यादव र शिवचन्द्र सिंहको प्यानल चुनावी प्रतिस्पर्धामा होमिएको छ, जसमा दुईवटा गुटले यादव र सिंहलाई साथ दिएका छन् । 


एमाले महोत्तरीका नेताहरुका अनुसार रामदयाल मण्डल, जुलि महतो, रघुवीर महासेठसहितको एउटा गुटले शिवचन्द्र सिंहलाई र  सरोज यादवको अर्को गुटले बलिराम यादवलाई साथ दिएकाे छ ।

एमाले महोत्तरीमा यसअघि निर्धारण भएको अधिवेशनहरु सरोज यादव र रामदयाल मण्डलकै कारण स्थगित भएको थियो ।

दर्जनौँपटक कहिले आन्तरिक कलह त कहिले नेताहरुको निजी स्वार्थको कारण विवादित बन्दै आएको अधिवेशन अहिले भने मनोनयन दर्ता भएसँगै नेता कार्यकर्ताहरूमा उत्साह देखिएको छ । खुलासत्रमा अध्यक्ष केपी सर्मा ओलीले अधिवेशन सहमतिमा नै हुने विस्वास व्यक्त गरेका थिए । तर, तल्लो तहको नेता, कार्यकर्ताहरुको लोकतान्त्रिक प्रक्रियाप्रतिको निष्ठाले महोत्तरी मात्र हैन अन्य जिल्लामा समेत प्रतिरोध हुँदै आएको देखिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!