बुइपामा बन्यो ९० लाखको कोल्ड स्टोर

Posted on: 08 Apr, 2022

चैत्र २५, खोटाङ | खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुइपामा कोल्ड स्टोर (चिस्यान केन्द्र) निर्माण गरिएको छ । संघीय सांसद निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा ३० टन भार क्षमताको कोल्ड स्टोर निर्माण गरिएको हो । 

९० लाखको खर्चमा निर्माण गरिएको चिस्यान केन्द्र शुक्रबार प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले उद्घाटन गरेका छन् । किसानले उत्पादन गरेका हरियो तरकारी, आलुको बीउ, फलफूल लगायतका कृषि उपज भण्डारणका लागि चिस्यान केन्द्र निर्माण गरिएको हो । 

चिस्यान केन्द्रमा जिल्लामा उत्पादित कृषि सामग्रीलाई व्यवस्थित तरिकाले लामो समयसम्म सुरक्षित रूपमा भण्डारण गर्न सकिने नगरपालिकाले जनाएको छ । 

चिस्यान केन्द्र उद्घाटन कार्यक्रममा संविधानसभा सदस्य पाँचकर्ण राई, नगर प्रमुख दिपनारायण रिजाल, उपप्रमुख बिणादेवी राई लगायतको उपस्थिति रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!