मेयर भट्टराईले गरे सम्पत्ति विवरण सार्वजनिक

Posted on: 05 Jun, 2022

जेठ २२, खोटाङ | खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट मेयरमा निर्वाचित भट्टराईले आइतबार पत्रकार सम्मेलन गर्दै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । 

मेयर भट्टराईले आफ्नो केही ठाउँमा जग्गा, घर, नगद तथा अपसेट प्रेस र थुक्पा उद्योगमा लगानी रहेको जानकारी दिएका छन् । जिल्लाका १० स्थानीय तहमध्ये सम्पत्ति विवरण सार्वजनिक गर्ने मेयर भट्टराई पहिलो हुन् । 

मेयर भट्टराईले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडामा १६ रोपनी २ आना ३ दाम पैतृक जग्गा रहेको, आमा पद्मकुमारी भट्टराईको नाममा सगोलमा ३ रोपनी ४ दाम जग्गा रहेको, भक्तपुरमा श्रीमतीको नाममा ९ आना २ पैसा जग्गा रहेको, उदयपुरको रामपुरमा साँढे २ कट्ठा जग्गा श्रीमतीको नाममा रहेको, दिक्तेलमा साँढे ६ आना जग्गामा ८ कोठे २ तले काठको घर रहेको जानकारी दिएका छन् । 

यस्तै, श्रीमतीसँग सुनको गहना ७ तोला, चाँदी १६ तोला, श्रीमतीकै नाममा वाणिज्य बैंकमा नगद ८० हजार रहेको सार्वजनिक गरेका छन् । डिल्लीबजार काठमाडौंमा साझेदारीमा २०६७ सालदेखि हलो हलेसी अपसेट प्रेस सञ्चालनमा रहेको र दिक्तेलमा साझेदारीमा थुक्पा उद्योग स्थापना गरेको मेयर भट्टराईले जानकारी दिए । थुक्पा उद्योग स्थापना गर्नेक्रममा ग्लोबल आइएमई बैंकबाट ७ लाख ५० हजार ऋण लिइएको भट्टराईले सार्वजनिक गरेका छन् । 

सामान्य आर्थिक अवस्थाका नेता जनप्रतिनिधिका रूपमा निर्वाचित भएपछि रातारात करोडपति बन्ने गरेको उल्लेख गर्दै भट्टराईले आफ्नो पाँच वर्षे कार्यकालमा आर्थिक अवस्था तथा जीवनशैलीमा कुनै फेरबदल नआउने दाबी गरे । ‘नेपालमा राजनीति सामाजिक सेवा होइन कमाउने उद्योग बन्यो । 

निर्वाचित भएपछि नेता रातारात करोडपति बन्छ । न उसको कुनै उद्योग कलकारखाना छन् न व्यापार व्यवसाय नै । उ नागरिकभन्दा उपल्लो दर्जाको साहेब भएको घमन्ड गर्छ, विगतको हैसियत भुल्न पुग्छ,’ मेयर भट्टराईले भने, ‘यो गतिशील, परिवर्तनशील र जबाफदेही हुने समयमा आफैले परिवर्तन नगरे कसले गर्ने ? अव परिवर्तन नभए कहिले हुने ? यो सोच र दृढता लिएर सम्पत्ति विवरण सार्वजनिक गरेको हुँ । पाँच वर्ष साहब होइन सेवकका रूपमा काम गर्नेछु ।’ 


यस बिषयमा तपाइको प्रतिक्रिया...!