रावाबेँसीको केन्द्र हरमटार कायम गर्ने नवनिर्वाचित जनप्रतिनिधिको निर्णय

Posted on: 21 May, 2022

जेठ ७, खोटाङ | खोटाङको रावाबेँसी गाउँपालिकाको नवनिर्वाचित जनप्रतिनिधिले गाउँपालिकाको केन्द्र हरमटार कायम गर्ने निर्णय गरेको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले कायम गरेको केन्द्रलाई नै नवनिर्वाचित जनप्रतिनिधिले पनि अनुमोदन गर्ने निर्णय गरेको हो ।

सुरुमा राज्य पुनर्सचंरचनाका क्रममा रावाबेँसी गाउँपालिकाको नाम लामीडाँडा र केन्द्र खार्पा निर्धारण गरिएको थियो । तर, पहिलोपल्ट निर्वाचित जनप्रतिनिधिले लामीडाँडा गाउँपालिकाको नाम रावाबेँसी र केन्द्र हरमटार कायम गर्ने निर्णय गरेको थियो । 

अघिल्लो स्थानीय सरकारको निर्णय अनुसार गाउँपालिकाको नाम रावाबेँसी र केन्द्र हरमटार रहने गरी नेपाल सरकारको राजपत्रमा प्रकाशित भइसकेको अवस्थामा नवनिर्वाचत गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको सर्वदलीय बैठकले गाउँपालिकाको केन्द्र हरमटार नै कायम गर्ने निर्णय गरेको हो । 

हालको रावाबेँसी गाउँपालिका–२ खार्पामा रहेको केन्द्रलाई अघिल्लो स्थानीय सरकारले रावाबेँसी गाउँपालिका–१ कुभिन्डेको हरमटार सार्ने निर्णय लिएको थियो । पद तथा गोपनीयताको सपथ ग्रहण लगत्तै बसेको बैठकले गाउँपालिकाको केन्द्रको विषयमा निर्णय लिएको हो । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले पुःन गाउँपालिकाको केन्द्र सार्न सक्ने आशंका व्यक्त भइरहेको अवस्थामा यथास्थानमा पालिका राख्ने निर्णय गराएका हुन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!