भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा चिसोले एक महिने शिशुको ज्यान गयो

Posted on: 21 Nov, 2023

मङ्सिर ५, जाजरकोट | चिसोबाट यहाँ एक महिने शिशुको निधन भएको छ । भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका-२ का हुकुमबहादुर पुनका एक महिनाकी छोरी निरुताको चिसोले निधन हो ।

भेरी –२ का पूर्व वडाध्यक्ष कालीबहादुर वलीका अनुसार तीन दिनअघि बिरामी परेकी शिशुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो ।


निमोनियाले बिरामी परेकी निरुताको उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कृष्णबहादुर खत्रीले जानकारी दिए ।

चिसोबाट जाजरकोटमा ५० भन्दा बढी बालबालिका बिरामी परेका छन् । चिसोकै कारण ११ जना दीर्घरोगी र वृद्धवृद्धाको ज्यान गएको छ ।

गत कात्तिक १६ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प गएको थियो ।

उक्त भूकम्पमा परी एक सय ५४ जनाको मृत्यु भएको छ भने तीन सय ४६ घाइते भएका छन्।

भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको जनाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!