आयोडिनयुक्त नुनका चार डिपो रित्तै

Posted on: 12 May, 2021

वैशाख २९, जाजरकोट (रासस)। सरकारले अनुदानस्वरूप दिएको आयोडिनयुक्त नुन डोल्पाका छ स्थानीय तहका सर्वसाधारणले खान पाएका छैनन् । आयोडिनयुक्त नुनको ठाउँमा ढिके नुन नै प्रयोग गर्न बाध्य भएको यहाँका सर्वसाधारणले जानकारी दिएका छन् । जिल्लाका मुड्केचुला गाउँपालिकाको सर्मी, जगदुल्ला गाउँपालिकाको काइगाउँ, त्रिपुरासुन्दरी गाउँपालिकाको लिकु र उपल्लो डोल्पाका स्थानीय तहका लागि तिन्जेमा आयोडिनयुक्त नुनको डिपो रहेको छ ।

त्यस्तै तिन्जेबाट टाढा रहेको फोक्सुण्डो, सालदाङका लागि क्याटोबाट वितरण हुने गरेको साल्टटेड्रिङ कर्पोरेशन लिमिटेड डोल्पाका प्रमुख प्रकाशबहादुर धामीले जानकारी दिनुभयो । बर्सेनि सदरमुकाम दुनै र जुफालबाट मात्र आयोडिनयुक्त नुन वितरण हुने गरेको उहाँको भनाइ छ । उपल्लो डोल्पाको तिन्जे डिपोमा जाने नुन केन्द्रीय कार्यालयले नै कोटा निर्धारण गर्दै आएको छ । चीनको बाटो हुँदै उपल्लो डोल्पाको क्याटो र तिन्जेमा नुन ढुवानी हुँदै आएको छ । अघिल्लो वर्ष कोभिडका कारण चीनले नाका नखोल्दा उपल्लो डोल्पामा आयोडिनयुक्त नुनको ढुवानी हुन नसकेको हो । यस वर्ष चीनबाटै त्यहाँ ढुवानी हुन सकेन । तल्लो तथा मध्य डोल्पामा नेपालगञ्जबाट नुन ढुवानी हुने गर्दछ ।

सरकारले सदरमुकाम दुनैमा ३०० क्विन्टल, जुफालमा २०० क्विन्टल, त्रिपुरासुन्दरीको लिकुमा ४५० क्विन्टल, मुड्केचुलाको सर्मीमा ३०० क्विन्टल र जगदुल्लाको काइगाउँमा २५० क्विन्टल आयोडिनयुक्त नुनको कोटा निर्धारण गर्दै आएको छ । बर्सेनि मागका आधारमा पनि कोटा तल माथि हुनसक्ने बताइएको छ । अघिल्लो र यस आर्थिक वर्षमा सदरमुकाम दुनै र जुफालमा मात्र आयोडिनयुक्त नुन बिक्री वितरण हुँदै आएको छ । यस आवमा सदरमुकामबाट बाहिरका कुनै पनि डिपोमा ठेक्का नलागेका कारण आयोडिनयुक्त नुन सर्वसाधारणले खान नपाएको प्रमुख धामीले जानकारी दिनुभयो ।

धामीले भन्नुभयो, “मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले आयोडिनयुक्त नुन माग गरेका कारण १५० क्विन्टल पठाउने तयारी गरिरहेकै समयमा कोरोनाका कारण बन्द हुँदा ढुवानीमा समस्या परेको छ ।”  अघिल्लो वर्ष जुफालमा एक हजार क्विटल र दुनैमा ३०० क्विन्टल आयोडिनयुक्त नुन आएको थियो । दुर्गम तथा पिछडिएका जिल्लामा सरकारले ढुवानी भाडासहित नुन अनुदानमा दिँदा प्रतिपोका रु ९ मा बिक्री हुँदै आएको छ ।

डिपोमा नुन नभएपछि स्थानीय पसलमा महङ्गोमा ढिके नुन खरिद गरेर प्रयोग गर्न बाध्य भएको सर्वसाधारण बताउँछन् । जतिपटक नुनका लागि डिपोमा गए पनि सधँै छैन भन्ने जवाफ आउने गरेको मुड्केचुला गाउँपालिका–७ का रामबहादुर सिंहले बताउनुभयो ।

 सदरमुकाम दुनै र जुफालमा नियमित आयोडिनयुक्त नुन बिक्री वितरण भए पनि सदरमुकामबाहिर बिक्री वितरण कार्य शून्य रहँदै आएको छ । सदरमुकाम बाहिरका मुड्केचुलाबाहेक अन्य स्थानीय तहले नुनको आवश्यकताका विषयमा कुनै पनि चासो नदिएको प्रमुख धामीले बताउनुभयो । माग गरेको भए सदरमुकामको कोटाबाट काटेर भए पनि ढुवानी गर्न सकिने अवस्था रहे पनि स्थानीय सरकारले चासो नदिँदा नुन पठाउन नसकिएको उहाँले बताउनुभयो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!