लोसपाका प्रमुख सचेतक अरगरीयालाई एमालेमा प्रवेश गराउन ओली पुनःधनुषा आउने

Posted on: 15 Sep, 2022

भदौ ३०, धनुषा | लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरीया नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । उनलाई प्रवेश गराउनका लागि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली केही दिनकै अन्तरालमा पुनःधनुषा आउन लागेका हुन् ।

यसअघि सोमबार जनकपुरधामको ऐतिहासीक तिरहुतिया गाछीमा आयोजित एमालेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा जसपाका प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, नेपाली कांग्रेस धनुषाका पूर्वउपसभापति सन्तोष यादवसहितका नेता तथा कार्यकर्ताहरू एमाले प्रवेश गरेका थिए ।

उक्त कार्यक्रममा बोल्दै ओलीले असोज ८ गते फेरि धनुषामा आएर विभिन्न पार्टीका नेताहरूलाई प्रवेश गराउने र रोक्न सके उनीहरूलाई रोकेर देखाउन अन्य दललाई उनले चेतावनी दिएका थिए । संसद विघटन गरेपछि ओलीले विस्तार गरेको मन्त्रिपरिषदमा अरगरीया लोसपाबाट पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका थिए ।

लोसपा धनुषा क्षेत्र नं. २ को क्षेत्रीय समितिको बैठकले प्रतिनिधिसभा सदस्यका लागि अरगरियाको एकल नाम सिफारिस गरेको हो । ०७४ मा अरगरिया झण्डै १४ हजार मतान्तरले निर्वाचित संघीय सांसद हुन् । उनी एमाले प्रवेश गर्न लागेको खबर कयौँ पटक आएपनि अन्ततः उनी एमाले असोज ८ मा एमाले प्रवेश गर्न लागेको स्विकार गरेका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!