संविधानको विरोध गर्दै तमलोपाले जनकपुरधाममा मनायो कालो दिवस

Posted on: 20 Sep, 2023

असोज ३, जनकपुरधाम । मुलुकभरि संविधान दिवसको उत्सव मनाइरहँदा मधेस प्रदेशको राजधानी जनकपुरधाममा भने तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)ले विरोधमा ‘कालो दिवस’ मनाएको छ । एक पक्षीय रुपमा संविधान जारी भएको भन्दै तमलोपाले संविधान दिवसलाई ‘कालो दिवस’को रुपमा मनाएको हो ।

२०७२ मा संविधानसभाबाट जारी भएको नेपालको संविधानप्रति असन्तुष्टि जनाउँदै तमलोपाले बुधबार बिहान जनकपुरधामको विभिन्न चोकमा कालो झण्डा प्रदर्शन गरेको हो । जनकपुरधामको चोक–चोकमा कालो झण्डा प्रदर्शन गर्दा प्रहरीले हस्तक्षेप गरी दमन गर्न खोजेको तमलोपाका केन्द्रीय सदस्य उमेश मण्डलले जनाए ।


उनले २०७२ सालमा संविधान जारी गर्दा मधेसमा ठुलो विरोध भएको भन्दै त्यतिबेला राज्यले नै प्रहरी प्रशासन लगाएर मधेसीको हत्या गरेको विरोधमा आफूहरुले अहिले प्रदर्शन गरेको बताए ।

नेता मण्डलले संविधानमा जनसंख्याको आधारमा मधेसलाई समानुपातिक सहितको राज्यको हरेक निकायमा पहुँच हुनुपर्ने, प्रदेश संरचना अनुसार प्रदेशलाई अधिकार सम्पन्न बनाउनु पर्ने लगायतका मागहरु आफूहरुले अघि सारेको बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!