हनुमत रथयात्रा : जानकी मन्दिरमा पूजाअर्चना

Posted on: 06 Jan, 2024

पुस २१, महेन्द्रनगर | भारतको कर्नाटक राज्य किस्किन्धाबाट आएको हनुमत रथयात्राका टोलीले आज जनकपुरधामस्थित जानकी मन्दिरमा पूजाअर्चना गरेको छ । बिहीबार धनुषाको जटही नाका हुँदै जनकपुरधाम प्रवेश गरेको उक्त रथयात्रामा सहभागीले जानकी मन्दिरमा शुक्रबार आरती गरेपश्चात् नगर परिक्रमा गरेको थियो ।

आज जनकपुरधामबाट काठमाडौँका लागि रथयात्रा प्रस्थान गर्ने तयारी भइरहेको अयोध्याबाट आएका धर्मगुरु शङ्कराचार्यले बताए । भगवान् हनुमानको जन्म भारतको किस्किन्धामा हनुमानको प्रतिमा सातसय पाँच फिट अग्लो बनाउने र त्यसको वरपर धाम निमार्ण गर्ने उद्देश्यले रथयात्रा निकालिएको किस्किन्धाबाट आएका गुरु स्वामीले बताए । निर्माण गरिने हनुमानको उक्त प्रतिमा विश्वको सबैभन्दा ठूलो हुने उनको भनाइ थियो । उनका अनुसार रथयात्रा १२ वर्षसम्म चल्नेछ ।

सन् २०३२ सम्म रथयात्रा पूर्ण हुने भएकाले जानकी माताको पूजाअर्चना गर्न किस्किन्धाबाट गुरु स्वामी र अयोध्याबाट धर्मगुरु शङ्कराचार्य, गङ्गाधर पाठक, राष्ट्रिय संयोजक विमलकुमार केडिया, संस्कृति एवं धार्मिक संयोजक केसवसहितका धर्मगुरु जनकपुरधाम आएका छन् ।

शुक्रबार बेलुका जानकी मन्दिरमा रथ हेर्न र पूजा गर्न श्रद्धालु भक्तजनको भीड लागेको थियो । त्यस क्रममा गुरु पाठकले इतिहासमै पहिलोपटक भगवान् हनुमान् आफ्नो जन्म भूमिबाट सिधा सीतामाताको भूमिमा आएको जानकारी दिए । उनले यात्रामा सहभागी भएर सीतामाताको भूमिमा आउँदा खुसी लागेको बताए ।

गुरु पाठकले भने, “अयोध्यामा निर्माण भएको राम मन्दिरजस्तै किस्किन्धामा पनि हनुमानको मन्दिर एवं धाम निर्माण भइरहेको छ ।” सम्पूर्ण जनकपुरधामबासी एवं नेपालीलाई उनले एक पटक किस्किन्धा पुगेर हनुमानको जन्मस्थलको दर्शन गर्न आमन्त्रण गरे । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!