कांग्रेस चितवनको १५ दिने अभियान आजदेखि सुरु

Posted on: 22 Jul, 2023

साउन ६, चितवन | नेपाली कांग्रेस चितवनले ४१औँ बीपी स्मृति दिवसको अवसरमा आजदेखि १५ दिने सदस्यता वितरण तथा नवीकरण अभियान सञ्चालन गरेको छ ।  

नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनालका अनुसार आज जिल्लाका ९८ वटै वडामा एकैसाथ अभियान सञ्चालन गर्न लागिएको हो । अभियानका लागि सबै वडामा जिल्लाबाट प्रतिनिधि खटाइएको उनले जानकारी दिए। अभियानका क्रममा नेपाली कांग्रेसको सदस्यता वितरण, क्रियाशील सदस्यता नवीकरणलगायतका जागरणका काम गरिनेछ । 

नयाँ सदस्यताका लागि अनलाइनबाट समेत फाराम भर्न सकिनेछ । अहिले वितरण गरिएको साधारण सदस्यलाई एक वर्षपछि वडाको सिफारिसमा क्रियाशील सदस्यता दिन सकिनेछ । चौधौँ  महाधिवेशनमा जिल्लामा नेपाली कांग्रेसका २८ हजार दुई सय क्रियाशील सदस्य रहेका थिए ।  

अभियानका क्रममा पार्टीका गतिविधिमाथि छलफल तथा अन्तरक्रिया हुनेछन् । सबै वडाले यही साउन २० गते वडा सम्मेलन सम्पन्न गरिसकेपछि पालिका, प्रदेश र क्षेत्रको सम्मेलन गरिने उनले जानकारी दिए। पालिका, प्रदेश र क्षेत्रीय सम्मेलन सम्पन्न गरी आगामी भदौ २४ गते जिल्ला सम्मेलन गर्ने गरी अभियानलाई अघि बढाइएको सभापति खनालले जानकारी दिए ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!