सेती नदीको बाढी बस्तीमा पस्न थालेपछि ६० परिवार सुरक्षित स्थानमा सारियो

Posted on: 07 Jul, 2024

असार २३, बैतडी । सेती नदीको बाढी बस्तीमा पस्न थालेपछि बैतडीको सिगासका ६० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । सिगास गाउँपालिका–५ ढुङ्गाडका ६० परिवारलाई स्थानीय शारदा माविमा सारिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए । 

उनले भने, “सेतीको बाढी गाउँ पस्ने खतरा बढेपछि  स्थानीयलाई सुरक्षित स्थानमा सारेका हौँ । स्थानीय जनप्रतिनिधिको सहयोगमा उनीहरूलाई शारदा माविमा सारिएको छ ।”

बाढीले बगाउने डरले स्थानीय पशुचौपायासहित घर छाडेर विद्यालयमा आश्रय लिएर बसेका छन् । नदी किनारमा लगाएको तटबन्धमाथिबाट नदी बग्न थालेपछि घर छाड्नुपरेको स्थानीय इन्द्रबहादुर चन्दले बताए।

सेतीमा पानीको बहाव बढ्दै गएपछि सिगास–५ का हरडाखानी, लाम्बगड, लोडेलगायत बस्ती बाढीको जोखिममा छन् । विसं २०७८ कात्तिक  पहिलो साता बाढीले सिगास–५ ढुङ्गाडलगायत क्षेत्रमा ठूलो क्षति गरेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!