दुर्घटनामा चारको मृत्यु, नगरपालिकामा शोक बिदा

Posted on: 22 Feb, 2022

फागुन १०, बैतडी । बैतडीको पाटन नगरपालिकाले आज शोक बिदा दिएको छ । सोमबार अपराह्न यहाँ भएको टिपर दुर्घटनामा तीन विद्यार्थीसहित चार जनाको मृत्यु भएपछि नगरपालिकाले शोक बिदा दिएको हो ।

दुर्घटनामा विद्यार्थीको मृत्यु भएकाले यहाँका शैक्षिक संस्थामा शोक बिदा दिइएको पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । नगरपालिकाले एक सूचना जारी गर्दै मृतकप्रति गहिरो शोक व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।

सोमबार अपराह्न भएको टिपर दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको र एक जनाको उपचारका क्रममा अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो । मृत्यु हुनेमा सिगास मावि गुरुडामा अध्ययनरत पाटन नगरपालिका–३ का १२ वर्षीय ज्ञानु विष्ट, १७ वर्षीय ललित अवस्थी, १४ वर्षीय राजेन्द्र पन्त र पाटन नगरपालिका–३ कै ४५ वर्षीय जनकराज पन्त रहेका छन् । राजेन्द्रको उपचारका क्रममा डडेल्धुरा अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो भने अन्य तीन जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

सोही दुर्घटनामा परेर अन्य पाँच घाइते भएका छन् । घाइते हुनेहरूमा पाटन नगरपालिका–३ कै २० वर्षीय सन्दीप विष्ट, १२ वाषर््ीय सुनिल भट्ट, १२ अमित विष्ट, १२ सुदीप पन्त र महेशप्रसाद पन्त रहेका छन् ।  उनीहरूमध्ये सन्दीपको अवस्था गम्भीर रहेकाले धनगढी सिफारिस गरिएको छ भने अन्य चार जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

घटनास्थलमा मृत्यु भएका तीन जनाको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ भने राजेन्द्रको शव डडेल्धुरा अस्पतालमा रहेको छ । गुजरबाट पाटनतर्फ आइरहेको बा३ख ४८७९ नंको टिपर सोमबार अपराह्न भित्री सडकमै पर्ने झाडीमालीमा दुर्घटनामा परेको हो ।  विद्यालय छुट्टी भएपछि घर फर्किरहेका विद्यार्थी उक्त टिपरमा चढेर आउन लागेका बेला दुर्घटनामा परेको थियो । दुर्घटनाग्रस्त टिपर सडकबाट ३०० मिटर तल खसेको थियो ।  दुर्घटनालगत्तै घाइते र मृतकको उद्धार स्थानीय र प्रहरीले गरेका थिए ।

टिपरका चालक रमेश विष्ट प्रहरीको नियन्त्रणमा रहेका छन् । दुर्घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो ।     

यस बिषयमा तपाइको प्रतिक्रिया...!