पहिरो खस्दा मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध

Posted on: 13 Jul, 2024

असार २९, बागलुङ । अविरल वर्षाका कारण पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । आज बिहान लोकमार्गको गलकोट नगरपालिका–१ झाँक्रीस्थानमा पहिरो खस्दा लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा पश्चिम बागलुङबाट जिल्ला सदरमुकामसम्म सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । पोखरा, काठमाडौँसहित ठूला सहरबाट बागलुङको बुर्तिबाङसहित रुकुम–पूर्व, जाजरकोट, रुकुम–पश्चिम सञ्चालन हुने सवारीसाधान ठप्प हुँदा यात्री बीच सडकका अलपत्र परेका हुन् । 

प्रहरी र स्थानीयको सक्रियतामा पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए । वर्षा हुँदा वित्तिकै सडक माथिदेखि लेदोसहितको पहिरो खस्दा लोकमार्गको उक्त खण्ड अवरुद्ध हुँदै आएको उनले बताए ।

लोकमार्गको निसीखोला गाउँपालिका–४ कालापैरामा पनि लेदोसहितको पहिरो झर्दा सडक अवरुद्ध हुँदै आएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!