तनहुँमा निर्माणाधीन पाँच सडकको म्याद थप

Posted on: 05 Mar, 2022

फागुन २१, तनहुँ । पूर्वाधार विकास कार्यालय एकाइ कार्यालय तनहुँमार्फत निर्माणाधीन अवस्थामा रहेका पाँचवटा सडकको म्याद थप गरिएको छ । कोरोना कारण निर्माणकार्य अवरुद्ध भएका सडकको आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी विभिन्न चरणमा म्याद थप गरिएको हो ।

जिल्लाको दुलेगौडा–हर्कपुर सडक आगामी असारसम्म, भानुमार्ग आगामी फागुनसम्म, मानपुर–डेढगाउँ मोटरमार्गको फागुनसम्म र आँबुखैरेनी–छिम्केश्वरी आगामी असोजसम्म म्याद थपका लागि मन्त्रालयमा पठाइएको छ । त्यसैगरी दासढुङ्गा–देउपुर सडक आगामी असारसम्म म्याद थपका लागि प्रक्रियामा राखिएको कार्यालयका सिनियर डिभिजन इञ्जीनियर दिनेशकुमार घिमिरेले जानकारी दिनुभयो ।

जिल्लाको देवघाटबाट घिरिङ गाउँपालिका हुँदै केलादीघाट कालीगण्डकी नदीको तीरैतीर स्याङ्जा, पाल्पा जोड्ने शालिकराम करिडरअन्तर्गत ६८ किलोमिटर सडकमध्ये  दासढुङ्गा–देउपुरसम्म छ किमी कालोपत्र भएको छ भने २५ किमी ग्राबेल गरिएको र बाँकी ३७ किमी ग्राबेल गर्न बाँकी रहेको उहाँले बताउनुभयो ।

त्यसैगरी १३ पुलमध्ये आठवटाको भर्खरै मात्रै बोलपत्र भएको छ भने पाँचवटा पुलको यसै आवको असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । शालिकराम करिडरअन्तर्गत ऋषिङ गाउँपालिका–४ र ५ जोड्ने ज्वालाखोला पुल, ऋषिङ गाउँपालिका–५ लुक्दीखोला पुल, घिरिङ गाउँपालिका–४ को तिरमदीखोला पुल, घिरिङ गाउँपालिका–१ पुट्टार द्रौपद पुल, भिमाद नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने फेदीखोलामा निर्माणाधीन अवस्थामा रहेको पुल यसै आवमा सम्पन्न गर्ने लक्ष्य छ ।

बोलपत्र भएका आठवटा पुलको तीन वर्षको ठेक्का म्याद रहेकाले यसै वर्ष सम्झौता गरी निर्माणको चरणमा रहेको सो कार्यालयका साइड इन्चार्ज होमनाथ गौतमले जानकारी दिनुभयो । धाउने–बालुवा–देउखोला सडकखण्ड कालोपत्र

फागुन २१, रुकुम । रुकुमपूर्वमा धाउने–बालुवा–देउखोला सडकखण्ड कालोपत्र हुँदै छ । ट्रयाक खोलेको लामो समयपछि उक्त खण्ड कालोपत्र हुने भएको हो । अहिले धाउने–बालुवा–देउखोला सडकखण्डमा धमाधम डकको काम चलिरहेको छ । धाउनेबाट देउखोलासम्मको १० किलोमिटर सडकमा पक्की हुने भएको हो ।

यस खण्डमा लामा कन्स्ट्रक्शन कम्पनी प्रालि महारजगञ्ज काठमाडौँले कामको जिम्मा पाएको छ । उसले रु २९ करोड ६७ लाख छ हजार ३९७ मा ठेक्का लिएको हो । विसं २०७८ असार ३ मा सम्झौता गरेको उसले २०८० असार २२ मा सडक कालोपत्रको काम गरिसक्नुपर्ने छ । सडकखण्डको उक्त क्षेत्र सिस्ने गाउँपालिकाको ६, भूमे गाउँपालिकाको ५ र पुथाउत्तरगङ्गा गाउँपालिकाको १४ नं वडा पर्छ । यस ठाउँमा दशैँ–तिहारलगत्तै काम सुरु भएको हो । 

अहिले पर्खाल लगाउने, नाली बनाउने, ग्राभेल गर्नेलगायत काम भइरहेको लामा कन्स्ट्रक्शन कम्पनीका सबकन्ट्याक्टर पासाङ शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त खण्डमा अहिले धमाधम काम चलिरहेको छ । सम्झौता अवधिभन्दा अघि नै सडक कालोपत्र सक्ने गरी काम चलिरहेको कम्पनीका सबकन्ट्याक्टर शेर्पाले बताउनुभएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!