लाखौं मूल्य बराबरका सुनचाँदीका गहनासहित एक जना पक्राउ

Posted on: 18 Aug, 2024

भदौ २, सिरहा । सिरहामा लाखौं मूल्य बराबरको सुनचाँदीको गहनासहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पाँचथरको आरुबोटे नगरपालिका- ५ बाजघरा घर भई झापाको दमकस्थित डेरा लिई बस्दै आएका २८ वर्षीय रोशन बराइली रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।


सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितका अनुसार सिरहा नगरपालिका ७ महिसोथास्थित ग्रामिण सडक खण्डमा सिरहाबाट चौहर्बातर्फ जाँदै गरेको प्र १-०१-०१४ प ४६२५ नम्बरको मोटरसाइकललाई शंकाको आधारमा चेकजाँच गर्दा बराइलीले बोकेको झोलाबाट सुनचाँदीको गहना बरामद भएको हो ।

प्रहरीले बराईलीको साथबाट चाँदीको बाला ६४ थान, ब्रासलेट ११ थान, चुरा २९ थान, रड १ थानगरी २ लाख १७ हजार ६८१ रुपैयाँ बराबरको २ केजी ६५२.४ ग्राम गहना र सुनको हरियो पोतेमा जडित माला १८ थान, रातो पोतेमा जडित माला ३० थान, सेतो माती मालामा जडित ५ थान, खुल्ला चन्द्रमा ६ थान, पोतेमा जडित चक्र ८ थान, पोतेमा जडित मंगलसुत्र १ थानगरी ३ लाख ३५ हजार २२८ रुपैयाँ बराबरको २६.०५ ग्राम सुनको गहना बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!